मावनमुक्त सडक बनाउने सरकारको अभियानमा तीव्रता
२९ फागुन ,काठमाडौँ । सहयोगापेक्षी सडक मावनमुक्त बनाउने उद्देश्यले सरकारले सङ्घ, प्रदेश र स्थानीय तहलगायत देशैभरि अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले काठमाडौँ महानगरपालिका तथा मानव सेवा आश्रमसँगको सहकार्यमा पछिल्ला तीन महिनाको अवधिमा ७६४ बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) व्यक्तिको उद्धार गरी पारिवारिक पुनर्मिलन तथा पुनस्र्थापना गरेको छ ।

त्यसैगरी सरकारले सुनसरीको धरानबाट १६ र झापाको दमकबाट १७ सडक आश्रित मानवको उद्धार गरी संरक्षण गरेको छ । ज्येष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र सञ्चालन नमूना कार्यविधि २०७६ बमोजिम छनोट भएका १६४ स्थानीय तहमा २०० स्थान ज्येष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र सञ्चालनका लागि ससर्त अनुदान गरिएको मन्त्रालयका सूचना अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।
ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप र अनुभवलाई राष्ट्रहितमा प्रयोग तथा अन्तरपुस्ता हस्तान्तरण गर्ने उद्देश्यले तयार गरिएको अन्तरपुस्ता सीप हस्तान्तरण कार्यविधि २०७६ स्वीकृतसमेत गरिएको छ । पछिल्लो समयमा मन्त्रालयले जोखिममा परेका ४९९ बालबालिकाको आपत्कालीन उद्धार गरी संरक्षण तथा व्यवस्थापन गरेको सूचना अधिकारी नेपालको भनाइ छ ।
मन्त्रालयले सातै प्रदेशमा सुविधासम्पन्न ज्येष्ठ नागरिक ग्राम स्थापना र प्रत्येक स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र स्थापना गर्ने रणनीति तय गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको आगामी कार्ययोजनामा भनिएको छ, ‘ज्येष्ठ नागरिकसम्वन्धी १० वर्षे कार्ययोजना तयार गरिनेछ जसमा ज्येष्ठ नागरिक संरक्षण, सुरक्षा र सम्मान सम्बन्धमा अभियानमूलक कार्यक्रम सञ्चालनलाई मुख्य प्राथमिकता दिइनेछ ।’
विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसङ्ख्या करीब २२ लाख रहेको छ । मन्त्रालयले सार्वजनिक यातायातमा यात्रा गर्दा ज्येष्ठ नागरिकलाई सवारी भाडादरमा ५० प्रतिशत छुट सुविधा दिने व्यवस्थालाई व्यावहारिकरुपमै कार्यान्वयन गर्न यातायात व्यवस्था विभाग तथा महानगरीय ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयलाई अगाडि बढाएको छ । सरकारले बालबालिका मुक्त सडक बनाउने उद्देश्यले सञ्चालन गरेको अभियानलाई समेत तीव्रता दिएको छ ।
प्रकाशित मिति : March 12, 2020 at 3:11 pm









