गीता छाेएर कमल थापाले खाए पार्टी नफुटाउने कसम
२८ फागुन, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब पार्टी नफुटाउने कसम खाएका छन्। थापाले राप्रपाकाे एकता घोषणा सभालाई सम्बोधन गर्दै यस्तो कसम खाएका छन् । कमल थापा नेतृत्वको राप्रपा र पशुपति शम्शेर तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच एकताको सहमति पछि बुधबार राजधानीमा एकता घोषणासभा भएको हो ।
गीता हातमा राखेर थापाले भने, ‘नेताले मात्र होइन, पार्टी फुटाउँदिन भनेर सबै कार्यकर्ताले प्रतिवद्धता जनाउनुपर्छ’, ‘पार्टीलाई माया गर्ने साथीलाई साक्षी राखेर प्रतिज्ञा गर्दछौं । म कहिल्यै पनि पार्टी फुटाउने छैन। तपाईंहरूलाई विश्वास लागेन? मैले गीता ल्याएको छु। यो गीता हातमा राखेर म भन्छु, राप्रपा फुट्दैन।’

अहिले सभालाई अर्का अध्यक्ष पशुपति शम्शेर जबरा, र डा. प्रकाशचन्द्र लोहनीले सम्बोधन गरिरहेका छन्। दुई पार्टीबीच एकताका लागि शनिबार राति अबेर सहमति जुटेको थियो। समान हैसियतमा तीन अध्यक्ष रहने गरी एकताको समहति भएको हो ।
कमल थापा, पशुपति शम्शेर जबरा र डा प्रकाश चन्द्र लोहनी तीनै जना अध्यक्ष रहनेगरी एकता भएको हो। पार्टीको निर्णय तथा जिम्मेवारी बाँडफाड गर्दा तीनै अध्यक्षको सहमतिमा हुने र बैठकको अध्यक्षता पालैपालो गर्ने समहति भएको हाे।
पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी नै रहने र चुनाव चिन्हबारे छलफलपछि निर्णय लिने जनाइएको छ। एकताको आधार पत्र भनी १० बुँदे सहमति पत्र जारी गरिएको थियो।
एकिकरण सम्बन्धि आधारपत्र र कार्यविधि निर्धारण गर्न राप्रपाबाट दिपक बोहरा, बुद्धिमान तामाङ र भाष्कर भद्रा र राप्रपा (संयुक्त) बाट बिक्रम पाण्डे, ठाकुर शर्मा र श्याम तिमिल्सिना रहेको कार्यदल गठन गरिएको राप्रपाले जनाएको छ।
प्रकाशित मिति : 16:13









