प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपा वरिष्ठ नेता खनाल त्रिवि शिक्षण अस्पतालमा
२५ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपा वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल त्रिवि शिक्षण अस्पतालमा पुगेका छन । आइतबार दिउँसो पूर्व प्रधानमन्त्री खनाल प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका हुन ।

पूर्व प्रधानमन्त्री खनालले ओलीको स्वास्थ्य अवस्थाको बारेमा अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गासाग जानकारी लिएका थिए । खनालसँगै नेकपाका नेता अमृतकुमार बोहरा, राजेन्द्र गाैतम, अनेरास्ववियूका संयोजक ऐन महर, नेतृ सुनिता बराल लगायत पनि अस्पतालमा पुगेका थिए ।
प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपणको पाँचौँ दिन आइतबार नियमित सन्तुलित आहार दिन थालिएको छ । त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखापरेको जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा डा खड्गाले प्रधानमन्त्रीलाई हिँडडुल गराउन र सन्तुलित आहार दिन थालिएको बताएका छन । उनले प्रधानमन्त्रीको भाइटल तथा ल्याब सामान्य रहेको बताएका छन । प्रधानमन्त्री ओलीलाई मिर्गाैला दान दिने भाञ्जी नता पर्ने समीक्षा सङ्ग्रौलाको स्वास्थ्यावस्था पनि राम्रो हुँदै गएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : 18:15









