२८ फाल्गुन २०८२, बिहीबार | Fri Mar 13 2026

हाम्रो बुबाआमालाई के थाहा ? नारीदिवस भनेको पशुलाई घटस्थापनाको दिन जस्तै हो भनेर

-रोनी गुइडेल

सुन्नुहोस न, मैले आज नारी दिवस मनाउनुहुन्छ कि हुँदैन भनिदिनुहोस् न किनकी म आज पर सरेकी छु; महिनावारी भएकी । अरु बेला म पर सरे भने मैले कुन पनि चाडवाड मनाउँनु हुन्न, मैले कसैलाई पनि छुनु हुँदैन, म भान्सामा पनि जानु हुन्न । मैले छोएको नि खाँदैनन् तर आज त नारी दिवस हो नि हैन, आज त मलाई छुट होला नि !

आज त नारी दिवस रे गोठमा सुत्न पठाउँदैनन होला नि है ! आज त छाउगोठमा सर्पहरू पसेर नि मलाई डस्दैनन् होला नि है न त ! आज गोठमा कुनियत राखेर पुरुषहरू नि नआउलान् नत्र फेरी म बलत्कृत भई भने मलाई नै दोष लगाएर गाउँबाट निकालिदिन्छन् अनि त्यो पुरुष चाहिँ शिर उठाएर हिड्छ ! हरे आज म पर सरेर नि नत्र आजकै दिन बिहे गर्थे, आजको दिन विहे गर्यो भने त दाइजो किन नल्याएको भनेर मलाई जिउदै जलाउँदैनन होला नि !

लोग्ने जति जड्याहाँ भए पनि आजको दिन राती राती घरबाट लोग्नेको कुटाई खाएर रगताम्य भएर भाग्नुपदैनथ्यो होला नि है ! हे भगवान्, मैले मेरो बच्चालाई नि आजकै दिन जन्माउँन पाउँ ! अनि छोरी नै जन्मियो भने पनि आज घरबाट निकाल्दैनन होला नि है ! किन कि आज त नारी दिवस पो त आज त नारीको लागि कानुन बुलन्द हुन्छ ।

आजको दिन त मेरो जन्म भएको भए मेरो बुबाआमालाई छोरी भएकोमा जति नराम्रो लागे पनि नेताहरूले ठूलाठूला भाषणले, नाराले, एक दिनको छुट्टीले, रेडियो र टिभीको फुकाइले मलम लगाइरहेको हुन्थ्यो होला है ।

हाम्रो बुबाआमालाई के थाहा नेपालमा नारीदिवस भनेको पशुलाई घटस्थापनाको दिन जस्तै हो भनेर, एकछिनपछि बलिमा चढाउन मज्जाले पूजा गरिरहेको छ भनेर । नेपालमा सती प्रथा त गयो तर समाजको अदृश्य नियमहरूलाई सधै आफ्नो अधिकारको, आफ्नो इच्छा, चाहना, स्वतन्त्रताको सती गईरहनुपरेको छ ।

अन्त्यमा एउटा प्रश्न
यदि तपाईहरु भगवानको अलौकिक शक्तीबाट मानवको उत्पत्ति भएको मन्नुहुन्छ भनेस भगवानले बनाउनुभएको सुन्दर नारी, भगवानले बनाउनु भएको महिनावारी हुने नियम अनि तेइ भगवानको कृपा भएको अर्थात महिनावारी हुदा भगवानलाई छुन किन नहुने रु यो त भगवानको कला, शक्ती, आविस्कार र सिर्जनाको निन्दा गरेको भएन र ??

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आईतवार १३:१८