९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

तनहुँको व्यास नगरपालिकाको प्रत्येक वडामा मेलमिलाप केन्द्र

२४ फागुन, व्यास । तनहुँको व्यास नगरपालिकाले प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापनाको तयारी गरेको छ । स्थानीयस्तरमा हुने विवादका घटना वडाबाटै समाधान गर्ने उद्देश्यले नगरपालिकाले १४ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गर्न लागेको हो ।

उक्त केन्द्र स्थापनाका लागि नगरपालिकाले मेलमिलाप केन्द्र सञ्चालन कार्यविधि २०७६ पारित गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । “स्थानीयस्तरमा हुने ससाना झगडा, विवादलगायतका घटना नगरपालिकासम्म नल्याइकन सोही ठाउँबाटै समाधान गर्न मेलमिलाप केन्द्र स्थापना गर्न लागेका हौँ”, उहाँले भन्नुभयो, “मेलमिलापबाटै समाधान गर्दा दुवै पक्षले जितेको महसुस हुन्छ ।”

स्थानीय शासन ऐन २०७४ बमोजिम नगरपालिकामा उपप्रमुख मीरा जोशीको संयोजकत्वमा न्यायिक समिति गठन भएको छ । उक्त समितिमा दुई जनप्रतिनिधि सदस्यका रुपमा रहनुभएको छ । न्यायिक समितिमा दर्ता हुने केही मुद्दामा न्यायिक समितिले फैसला गर्ने र केही मुद्दा मेलमिलापबाट टुङ्गो लगाउनुपर्ने कानूनी प्रावधान छ ।

वडास्तरमा मेलमिलाप गराउने दक्ष जनशक्ति नभएकाले नगरपालिकाले प्रत्येक वडाबाट दुई÷दुई जना सहभागी गराई एक हप्ते तालीम सञ्चालन गरेको छ । शुक्रबारदेखि शुरु भएको तालीम यही फागुन ३० गतेसम्म सञ्चालन हुनेछ । “मेलमिलाप गराउने मेलमिलापकर्ता विश्वसनीय र परिपक्व हुनुपर्ने भएकाले उहाँहरुलाई दक्ष बनाउन लागेका छौँ”, न्यौपानेले भन्नुभयो, “दुवै पक्षले जित्ने विकल्प मेलमिलापबाट मात्र सम्भव छ ।”

पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश एवं मेलमिलाप विज्ञ केशरीराज पण्डितले अदालतमा गइसकेको विवाद पनि मेलमिलापबाट टुङ्ग्याउन प्रयास गरिने प्रचलन रहेकाले स्थानीय तहमा पनि मेलमिलापको महत्व रहेको बताउनुभयो । विवाद टुङ्गो लगाउने उत्तम विकल्प मेलमिलाप रहेको बताउँदै पण्डितले भन्नुभयो, “मेलमिलापबाट दुवै पक्षले जितेको महसुस गर्न सक्छन् ।”

न्यायिक समितिमा पर्ने उजुरीमा न्यायिक समितिले गरेको फैसला उपर चित्त नबुझे जिल्ला अदालतमा पुनरावेदन गर्न पाइने कानूनी अधिकार रहेको समेत पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार न्यायिक समितिमा पर्ने उजुरीका विषयमा पनि सर्वप्रथम मेलमिलापको अवसर दिनुपर्छ । नगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक जोशीले स्थानीयस्तरमा हुने विवादका घटना वडाबाटै मेलमिलाप गराउन सकिए नगरपालिकामा मुद्दाको चाप घट्ने बताउनुभयो ।

प्रकाशित मिति : March 7, 2020 at 1:07 pm