राष्ट्रियसभामा निर्वाचित १८ सदस्यको शपथ आज
२१ फागुन, काठमाडाैँ । राष्ट्रियसभामा निर्वाचित १८ सदस्यले आज पद तथा गोपनीयताको शपथ लिँदैछन । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनियुक्त सदस्यहरूको शपथ गराउनेछन । यसअघि उनले मंगलबार साँझ काठमाडाैँको एक पाँचतारे होटलमा रात्री भोज दिएका थिए ।
संघीय संसद् सचिवालयका अनुसार नयाँबानेश्वरमा रहेको संघीय संसद भवनको ल्होत्से हलमा बिहान ११ बजे सदस्यहरूको शपथ कार्यक्रम राखिएको छ । एक तिहाइको कार्यकाल दुई वर्षमा सकिने संवैधानिक प्रावधान अनुसार रिक्त हुने स्थानमा माघ २४ गते १८ जनाको निर्वाचन भएको थियो । माघ २४ मा निर्वाचितहरूले नै आज पद तथा गोपनीयताको शपथ लिन लागेका हुन । उनीहरूले आजैबाट औपचारिक रूपमा जिम्मेवारी पाउँदैछन् ।

शपथमा सहभागी हुने १८ सांसद मध्ये १६ जना सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का रहेका छन भने दुई सांसद राष्ट्रिय जनता पार्टीका रहेका छन । मन्त्रिपरिषद्बाट मनोनीत हुने एक सदस्यको बारेमा अझै अन्योल कायम रहेको छ ।
यी हुन शपथ लिने सांसदहरू
भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँर, इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमारसिंह यादव, गङ्गाकुमारी बेल्बासे, वेदुराम भुसाल ।
प्रकाशित मिति : 08:15









