९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

कीर्ते गरेर प्रहरी जवानको तलब भत्ता झ्वाम पार्ने पूर्वडीआईजी महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्दा

२० फागुन, काठमाडाैँ । कीर्ते गरेर प्रहरी जवानको तलब भत्ता झ्वाम पार्ने पूर्वडीआईजी महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहविरूद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अायोगका अनुसार शाहले मध्य क्षेत्रीय तालिम केन्द्र सिन्धुलीमा रहँदा प्रहरी जवानको तलब भत्ता कीर्ते दस्तखत गरी हिनामिना गरेका थिए ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार अख्तियारले शाहसँगै लेखापाल प्रहरी नायब निरीक्षक दिपेन्द्रप्रसाद पनेरु तथा लेखा सहायक हवल्दार केशवसिंह ऐरीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरु तीनैजनाविरुद्द्ध ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरुले तालिम केन्द्रमा सरुवा भई आएका १०३ जना प्रहरी जवानको २०७२ माघ र फागुन महिनाको तलव भत्ता ३१ लाख ८८ हजार ४ सय ६८ र १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानको ०७२ साल माघमा २ दिनको तलब १ लाख ४९ हजार ६१६र८८ रुपैयाँ गरी ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा तलवी भरपाईमा कीर्ते दस्तखत गरी झिकेर बाँडिचुडी खाएका थिए ।

प्रकाशित मिति : March 3, 2020 at 6:52 pm