मणिकाधाम मेलामा आउने श्रद्धालुलाई कोरोनाबारे सचेत पारिँदै
– राजेन्द्रप्रसाद पनेरु
२० फागुन, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मणिकाधाम क्षेत्रमा लाग्ने मेलालाई मध्यनजर गर्दै कोरोना भाइरसबारे सचेतना फैलाउने कार्यलाई अगाडि बढाइएको छ । बुधबार लाग्ने मेलामा सहभागी हुने श्रद्धालु भक्तजनलाई लक्षित गरी वडा कार्यालयले कोरोना भाइरसबारे सेचत पार्न थालेको हो ।
मेलामा आउने श्रद्धालुलाई मास्कको प्रयोग गर्न, हात नमिलाउन र टाढैबाट नमस्कार गर्नका लागि सन्देश प्रवाह गर्ने कार्य अगाडि बढाइएको वडाध्यक्ष बहादुर महराले बताउनुभयो । प्रत्येक वर्ष शुक्लपक्षमा लाग्ने मेला भर्नका लागि कञ्चनपुर, कैलालीसहित भारतीय दर्शनार्थीको उल्लेख्य सहभागिता रहने गरेको छ ।

मेलामा राखिने पसल दर्ताको कामसमेत शुरु गरिएको छ । सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र विभिन्न क्लबमा आबद्ध युवाले मेला लाग्ने क्षेत्रमा सरसफाइ गरेका छन् । सडक मर्मतको कामसमेत पूरा गरिएको छ । वडा कार्यालयले मेलालाई व्यवस्थित र मर्यादित बनाउन सवारीधनी र यात्रुलाई ट्राफिक नियमको पालना गर्न लगाउने, मेलास्थलमा व्यापार व्यवसाय र होटल व्यवसाय गर्ने व्यवसायीले तोकिएको स्थानमा मात्रै व्यवसाय सञ्चालन गर्ने, खाद्यवस्तुमा अखाद्य सामग्रीको प्रयोग नगर्ने, मेलास्थलमा धुमपान, मध्यपान बिक्री वितरण र प्रयोगमा समेत रोक लगाउने निर्णय गरिएको वडाध्यक्ष महराले बताउनुभयो ।
जुवा, तास, कौडा, चिठ्ठाजस्ता गतिविधि गर्न नपाइने, मेला लाग्ने स्थान वन क्षेत्रमा भएकाले वन्यजन्तुको बासस्थानमा खलल पार्ने काम नगर्ने, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखानेलगायतका कुराको प्रचारप्रसार गरी श्रद्धालुलाई सजग पार्ने निर्णयसमेत गरिएको उहाँले बताउनुभयोे । वृद्धवृद्धा र फरक क्षमता भएका तथा सामाजिक हिसाबले सुरक्षा गर्नुपर्ने श्रद्धालु भक्तजनलाई पहिलो प्राथमिकतामा राखी मन्दिरमा दर्शनको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
मेलामा प्रत्येक वर्ष दुई लाख बढी दर्शनार्थी मणिकाधाम क्षेत्रमा सिद्धनाथ बैजनाथबाबाको दर्शनका लागि पुग्ने गर्दछन् । मेलामा गए रातिदेखि नै व्यापारका लागि यस क्षेत्रमा छिमेकी जिल्ला कैलाली र निकटवर्ती भारतीय क्षेत्रबाट दर्जनौँ व्यापारी पुग्ने क्रम जारी छ । मणिकाधाम क्षेत्रको दर्शन गरेमा मनोवाञ्छित फल पाइने जनविश्वासका कारण दर्शनार्थीको भीड लाग्ने गरेको छ । मणिकाधामलाई यस क्षेत्रका स्थानीय बासिन्दाले मुडका नामले चिन्दछन् ।
धाम क्षेत्रमा सिद्धबाबाको प्राचीन मन्दिर र मन्दिर नजिकै ठूूलो तलाउ रहेको छ । मुडका क्षेत्रमा रहेको तलाउमा मणिवाला सर्प बस्ने गरेका कारण यस क्षेत्रको नाम मुडकाधाम रहेको स्थानीय बूढापाकाको भनाइ छ । थारू भाषामा मुड भन्नाले शिरलाई बुझ्ने गरिएकाले सबैभन्दा अग्लो भाग भएकाले मुड शब्दको अपभंभई मुडका भएको एकथरिको भनाइ छ ।
पहाडबाट मौसमीरूपमा बसाइँ सारेर झर्ने व्यक्तिले ताल भएको क्षेत्र नजिकैको थुम्कोमा मन्दिर स्थापना गरी पूजा गर्दै आएपछि यो क्षेत्र अन्य समुदायका व्यक्तिका लागि पनि धार्मिक धरोहरका रूपमा विकसित हुँदै गएको बैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिका अध्यक्ष भरतबहादुर ऐरले बताउनुभयो ।
आन्तरिक पर्यटक यस क्षेत्रमा पुगेर अवलोकन गर्ने र तराईको दृश्यावलोकन गर्न पाउँदा आनन्दित हुने गरेको समितिका सचिव डम्बरबहादुर ऐरले बताउनुभयो । पूर्वपश्चिम राजमार्गभन्दा झण्डै ११ किलोमिटर उत्तरचुरेको फेदीमा रहेको यो क्षेत्र प्राचीनकालमा पहाडबाट चौपायासहित हिउँदका बेला बसाइँ सर्नेको आश्रयस्थलका रूपमा समेत रहेको थियो ।
प्रकाशित मिति : March 3, 2020 at 11:41 am









