आइजिपी ज्ञवालीसहित प्रहरीका ४ उच्च अधिकारीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता
१९ फागुन, काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) ठाकुर ज्ञवालीसहित प्रहरीका ४ उच्च अधिकारी विरुद्ध सर्वोच्च अदालतमा अदालत अवहेलना मुद्दा दर्ता भएको छ । आइतवार अपरान्ह आइजिपी ज्ञवालीसहित ४ उच्च अधिकारीविरुद्ध मुद्दा दर्ता भएको हो ।

सर्वोच्च अदालत रिहा गर्न आदेश दिने, तर गेटबाटै पटकपटक पक्राउ गर्ने प्रवृत्ति बढेको भन्दै गत शुक्रवार ४ प्रहरी अधिकारीविरुद्ध अवहेलना मुद्दा चलाउन २ न्यायाधीशको संयुक्त इजलाशले आदेश गरेको थियो । सोहीअुनसार आइतबार प्रहरी महानिरीक्षक ज्ञवालीसहित सर्वोच्चले महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख डिएसपी सन्तोष राठौर, महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तम सुवेदी र महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डिएसपी कौशल बुढाथोकीविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको सर्वोच्चले जनाएको छ ।
अवहेलना मुद्दा दर्ता भएका चारै जनालाई सोमबार म्याद जारी गर्ने र त्यसको ७ दिनभित्र उनीहरुलाई अदालत उपस्थित हुन भनिने बताइएको छ ।
प्रकाशित मिति : March 2, 2020 at 1:50 pm









