विकल्प दिएर मात्र संरचना हटाउन काँग्रेसको माग
१९ फागुन, दमक । नेपाली काँग्रेस झापा, क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारीले दमक–६ र ७ का सडक आसपासका अव्यवस्थित बसोबासीको घरटहरा नभत्काउन आग्रह गर्नुभएको छ । दमक नगरपालिकाले आइतबार पूर्वपश्चिम राजमार्गसहित सरकारी जमीनका अतिक्रमित संरचना हटाउन डोजर प्रयोग गरेपछि उहाँले विकल्प दिएर मात्र संरचना हटाउन माग गर्नुभयो ।

सञ्चारकर्मीहरुसँग आज यहाँ कुराकानी गर्दै सभापति भण्डारीले आफ्नो पार्टी विकास विरोधि नभएको स्पष्ट पार्नुभयो । अतिक्रमित संरचना हटाउने कार्य नरोकिने सडक व्यवस्थापन तथा शहरी सुदृढीकरण समितिका संयोजकसमेत रहनुभएका दमक– २ का वडाध्यक्ष प्रजापति सापकोटाले स्पष्ट पार्नुभयो ।
यसैबीच स्थानीय पशुहाट बजारको दक्षिण सडकको जमीनमा बस्दै आएका सात घरपरिवारले नगरपालिकाबाट जबर्जस्ती संरचना भत्काउने कार्य भएको भन्दै पहिले क्षतिपूर्ति दिन माग गरेका छन् । आफूहरु वर्षैादेखि त्यहाँ बस्दै आएका भन्दै उनीहरुले विकासको नाममा अवरोध नरहने स्पष्ट पारेका छन् ।
प्रकाशित मिति : March 2, 2020 at 1:27 pm









