९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

विवाहमा सुन किन्ने रकमबाट विद्यालयमा अक्षयकोष

१८ फागुन, गलकोट । यहाँका एक नवजोडीले विवाहको रकम जोगाइ विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवाका तारा शर्मा र काठेखोला गाउँपालिका–७ रेशका तीर्थप्रसाद गौतमले काठेखोला गाउँपालिका–७ रेशस्थित रेश नुन्थला माध्यमिक बिद्यालयमा रु एक लाख ११ हजार १११ को अक्षयकोष स्थापना गरेका हुन् ।

विवाहमा सुन किन्दा लाग्ने खर्च कटाइ पिता चन्द्रप्रसाद गौतमको स्मृतिमा अक्षयकोष स्थापना गरेको सोही विद्यालयमा पूर्वशिक्षकसमेत रहेका गौतमले जानकारी दिनुभयो । शर्मा युवासङ्घको नेतृ हुनुहुन्छ । “हामीले राम्रो कामको शुरुआत आफैँबाट गर्नुपर्छ”, शर्माले भन्नुभयो, “भड्किलो विवाहको अन्त्यका लागि समाजमा सकरात्मक सन्देश दिन खोजेका हौँ ।”

सो विद्यालयको ६४औँ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा कोषबाट वार्षिक छात्रवृत्ति प्रदान गरिनेछ । कक्षा ११ , माध्यामिक शिक्षा परीक्षा (एसइई) का परीक्षामा सर्वाेत्कृष्ट जीपीए हासिल गर्ने तथा मावि तह, आधारभूत, प्राथमिक र पूर्वप्राथमिक तहका गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । यसका साथै वर्ष शिक्षकसमेत छनोट गरेर पुरस्कृत गरिने छ ।

प्रकाशित मिति : March 1, 2020 at 12:19 pm