१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

नेकपा विवाद : आन्तरिक भेटघाट तीव्र, परिणाम शून्य

१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले शनिबार बिहान सरकारी निवास बालुवाटारमा पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङसँग पार्टीभित्रे विकसित घटनाक्रमका विषयमा छलफल गरे । त्यसको केही बेरपछि बोलाइए, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि । पार्टीभित्र बहुमत नेताहरुको घेराबन्दीमा परेका प्रधानमन्त्री ओली आफूविरुद्दको घेरा कसरी तोड्ने भन्नेमा निकट नेताहरुसँग दिनहुँ जसो आन्तरिक छलफलमा छन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत नेताहरु पनि प्रधानमन्त्रीले सचिवालय निर्णय कार्यान्वयनमा गरिरहेको ‘आनाकानी’ लाई कसरी कार्यान्वयनमा लैजाने भन्नेमा छलफलमै छन् । १० फागुनको सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजान संविधान संशोधन कार्यदल गठन सम्मका विषयमा नेकपा प्रवेश गरेपछि त्यसयता पार्टीभित्र ओली र ओली इतर समूहका रुपमा नेताहरुका बीच ‘मोर्चाबन्दी’ जारी रहेको खबर अन्नपूर्ण पोस्टमा छ ।

पार्टीभित्र देखिएको विवाद समाधान कसरी खोज्ने भन्नेमा दुवै पक्षमा अहिले आन्तरिक तयारी तीव्र छ । तर अडान आ–आफ्ना यथावत । १४ फागुनको सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई नि:सर्त राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने स्थानमा पठाउने निर्णयमा पुगेपछि ओली दबाबमा परेका छन् ।

ओली पार्टीको निर्णयलाई नमानी युवराज खतिवडालाई नै राष्ट्रियसभा सदस्यमा दोहोर्‍याउने, दाहाललगायत नेताहरु सचिवालयका निर्णयअनुसार वामदेव गौतमलाई नै राष्ट्रियसभामा पठाउने अडानमा छन् । खासमा यो खुमलटार र बालुवाटार बीचको शक्ति संर्घष हो । यो शक्ति संर्घषमा अरु नेताहरु ‘वामदेव प्रकरण’ बनेर जोडिएका मात्र हुन् ।

दुवै पक्षले आन्तरिक तयारी गर्ने र त्यसपछि त्यसको निश्कर्ष र समस्या समाधानको विकल्प सार्वजनिक गर्ने क्रम पनि नेकपाभित्र चलेको छ । शुक्रबार बिहान दाहाल निवास खुमलटारमा दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमबीचको छलफलको निश्र्कष दाहालले चितवन पुगेर पत्रकारसँग खोलेका थिए ।

‘अहिले पार्टी निर्णय मानेर वामदेवलाई राष्ट्रियसभा सदस्यका रुपमा लैजाने, अर्थमन्त्रीका रुपमा खतिवडालाई नै अहिले निरन्तरता दिने ।’ दाहालले चिवनमा पुगेर सुनाएका एउटा विकल्प हुन् यी ।

त्यही सन्देश वरिष्ठ नेता नेपालले शुक्रबार दिउँसो प्रधानमन्त्री ओलीसँगको भेटमा सुनाएका पनि थिए । तर पनि प्रधानमन्त्री ओली त्यसमा ‘टसमस’ भएको देखिएका छैनन् । ओलीले पनि आफ्ना अडान आफुपक्षीय नेता ईश्वर पोखेरेलमार्फत अभिव्यक्त गराइरहेका छन् । शनिबार बिहानसम्मको नेताहरुको बालुवाटार छलफलको निष्कर्ष उपप्रधानमन्त्री पोखरेलले पनि विराटनगर पुगेर सुनाए । ‘वामदेवलाई राष्ट्रियसभामा लैजाने पार्टी निर्णय कार्यान्वयन गर्ने तर त्यो पहिले खतिवडालाई लग्ने र पछि उपयुक्त समय मिलाएर मात्र गौतमलाई लैजाने ।’

दुवै पक्ष आ–आफना अडानमा टसमस नुहदा पार्टी नै वार–पारको अवस्थामा पुग्नसक्ने चिन्ता व्यक्त गर्छन्, ओली निकट स्थायी समिति सदस्य सत्यनारायण मण्डल ।

 

प्रकाशित मिति : 07:29