२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

मोडल खुस्बु ओलीलाई २ वर्ष कैद

१६ फागुन, काठमाडौँ । मोडल खुस्बु ओलीलाई अदालतले २ वर्ष कैदको फैसला सुनाएको छ । ओलीलाई शुक्रबार जिल्ला अदालत काठमाडौँले २ वर्ष कैदको फैसला सुनाएको हो ।

ओलीले सप्तरीको राजविराज-८ का ४३ वर्षीय गोपाल कटुवालसँग ३६ लाख रुपैयाँ लिएकी थिइन् । सापटी दिएको  रकम कटुवालले मागेपछि ओलीले कुमारी बैंक न्युरोड शाखाको ३६ लाख रुपैयाँको चेक दिइन्।

तर, बैंकले रकम नभएको भन्दै उनलाई फर्काइदियो। तीन पटकसम्म पनि खातामा पर्याप्त रकम नभएपछि चेक बाउन्स भयो। लामो समयसम्म पनि आफ्नो ३६ लाख नपाएपछि गत वर्ष साउनमा कटुवालले काठमाडौँ जिल्ला अदालतमा चेक अनादर मुद्दा दायर गरेका थिए । विनिमय अधिकारपत्र ऐन २०३४ को दफा ५३ बमोजिम कटुवालले मुद्दा दायर गरेका थिए।

अदालतले उक्त मुद्दामाथि गत जेठ ७ गते फैसला गर्दै ओलीलाई ३ महिना कैद र ३ हजार जरिवाना सुनाइएको छ भने ३६ लाख चेक काटेदेखिको साँवा र ब्याजसमेत तिर्नुपर्ने अदालतको ठहर थियो।

तर अदातलको उक्त फैसला कार्यान्वयन नभएपछि जेठ १६ गते कटुवालले पुन फैसला कार्यान्वयन गरी पाउँ भन्दै जिल्ला अदालत काठमाडौँमा निवेदन दायर गरेका थिए।

त्यसपछि साउन १३ गते जिल्ला अदालतले म्याद तामेल गरी सम्बन्धीत वडामा पठाएको थियो । उक्त सूचना वडा कार्यालयको सूचना पाटीमा समेत टाँस गरिएको थियो। त्यसपछि पनि ओली सम्पर्कमा नआएपछि वडासचिवमार्फत् उनकै घरमा म्याद तामेली टाँस गरिएको थियो।

अहिलेसम्म पनि प्रतिवादी ओलीको जायजेथा प्राप्त गर्न नसेको र उनी सम्पर्कमा समेत नआएको भन्दै वादी कटुवालले जरिवाना र बिगो बमोजिम कैद राखिपाउँ भन्दै गत पुस २८ गते जिल्ला अदालतमा पुन निवेदन दर्ता गराएका थिए।

उक्त मुद्दाको फैसला गर्दै ओलीलाई जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले शुक्रबार २ वर्ष कैदको फैसला सुनाएको हो।

प्रकाशित मिति : February 28, 2020 at 6:05 pm