चारित्रिक प्रमाणपत्र लिन सहज बन्दै
१६ फागुन, काठमाडौं । ‘‘भाइ ‘प्लिज’ यता आउनुस् न, कता उता जान लाग्नु भा, यहाँ पनि फर्म भरिन्छ,’’ एक महिलाले यस्तो आग्रह गरेपछि ती युवक चारित्रिक प्रहरी प्रमाणपत्र (चालचलन) को फर्म भर्न उनकै पसलमा पुग्छन् ।
‘‘पैलेपैले फर्म भर्नेहरूको मारामार हुन्थ्यो, आजकल त पसल खोलेको एक घण्टा भइसक्दा समेत बोहनी नै भएको छैन,’’ महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिसरमा एकथान फोटोकपी मेसिन राखी चारित्रिक प्रहरी प्रमाणपत्रको फर्म भर्दै गरेकी ती महिलाले गुनासो थियो ।
रत्नपार्कको आकाशेपुल तल लहरै सटर छन् । ती सटरमा चियानास्ता पसलसँगै १२ वटा फोटोकपी मेसिन राखिएका छन् । अन्य पसलले पनि ती महिलाले जस्तै आफ्नो अगाडिबाट आउजाउ गर्ने जो–कोहीलाई ‘प्लिज’ भन्दै फर्म भर्न आग्रह गर्छन् । विभिन्न प्रयोजनका लागि चारित्रिक प्रहरी प्रमाणपत्र प्राप्त गर्न नेपाल प्रहरीले चालचलनसम्बन्धी फर्महरू निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । तर सो फर्म भरिदिएबापत फोटोकपी मेसिन पसलेले ७० रुपैयाँसम्म लिने गर्छन् । फर्म भर्ने कार्यसँगै नागरिकता र राहदानीसहित अन्य कागजपत्रको फोटोकपी अनिवार्य भएकाले यस्ता पसल केही महिनाअघिसम्म निकै फस्टाएका थिए ।

दैनिक २५, ३० ग्राहक आए पनि तीन, चार हजार रुपैयाँ कमाइ हुन्थ्यो । चारित्रिक प्रमाणपत्र लिन आउनेहरूको भीड रानीपोखरीमा थेगिनसक्नु हुन्थ्यो । तर बिहीबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म स्थलगत अवलोकन गर्दा त्यस्तो अवस्था देखिएन । चालचलन कक्षका प्रहरी कर्मचारीमा कामको हतारो थिएन, फोटोकपी पसलेहरू ग्राहक बोलाइरहेका देखिन्थे ।
अनलाइनले राहतप्रहरी प्रधान कार्यालय कार्य तथा अपराध अनुसन्धान विभागले चालचलनसम्बन्धी फर्म भर्न भीड लाग्नुपर्ने बाध्यता अन्त्य गरेसँगै यस्तो अवस्था आएको हो । रानीपोखरीका साथै महाराजगञ्ज, गौशाला, कालिमाटी, ललितपुर र भक्तपुर गरी उपत्यकामा छ स्थानबाट सो सेवा उपलब्ध हुँदै आएको खबर गोरखापत्र दैनिकमा छ । सातवटै प्रदेश प्रहरी कार्यालयबाट समेत चालचलनसम्बन्धी फर्म लिनका साथै प्रमाणपत्र वितरण हुँदै आएको छ । नेपाल प्रहरी दिवसको अवसरमा गत कात्तिकबाट चारित्रिक प्रमाणपत्र लिनका लागि अनलाइन फर्म सेवा सुरु गरेसँगै थप सहज भएको छ ।
प्रकाशित मिति : February 28, 2020 at 6:45 am







