८ असार २०८३, सोमबार | Mon Jun 22 2026

योजनाबद्ध विकासका पक्षमा छौँः मुख्यमन्त्री पोखरेल

१४ फागुन , परासी । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले छोटो समयमै प्रदेश सरकारका काम देखिन थालेको बताउनुभएको छ । पश्चिम नवलपरासीको रामग्राम–७ स्थित रामग्राम स्तूप र देउरवा गाउँ जोड्ने गरी बन्न लागेको झरही खोला पुलको आज शिलान्यास गर्दै उहाँले भन्नुभयो, “छोटो समयमै जनताले प्रदेश सरकारको अनुभूति गर्न थालेका छन्, जनताको सहयोगकै कारण यस्ता उपलब्धिमूलक काम गर्न सम्भव भएको छ, हाम्रा काम देखिन थालेको छ, हामी योजनाबद्ध विकासका पक्षमा छौँ ।”

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले पूर्वाधार विकासमा जोड दिएको उल्लेख गर्दै यो पुल पनि पूर्वाधार विकासकै चरणअन्तर्गत रहेको बताउनुभयो । उहाँले रामग्राम स्तूपलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न यातायातका पूर्वाधारले जोड्न आवश्यक रहेको सन्दर्भमा यो पुल रामग्रामको विकासमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

“विगतमा यहाँ पुल बनाउने धेरै चर्चा भए पनि अहिले प्रदेश सरकारको उपस्थितिले यो सम्भव भएको छ, अब रामग्रामको गुरुयोजना कार्यान्वयन प्रक्रियासँगै यहाँ विकासको ढोका खुल्नेछ, स्तूप क्षेत्रमा हामीले बौद्ध सङ्ग्रालय बनाउने काम पनि छिट्टै अघि बढाउनेछौँ”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री पोखरेलले कृषिको आधुनिकीकरण, औद्योगीकरण तथा पर्यटकीय पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको बताउँदै प्रदेशका नागरिकको जीवनस्तर उकास्न तीन वर्षभित्र सबै घरधुरीमा स्वच्छ पिउने पानीको उपलब्धता र दुई वर्षभित्र बिजुली पु¥याउने प्रतिबद्धता दोहोर्याउनुभयो ।

भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले आगामी दुई वर्षभित्रै उक्त पुल निर्माण हुने प्रतिबद्धता जनाउँदै पुल निर्माणमा ढिलाइ नगर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “पञ्चायतकालदेखि नै यहाँको पुल बहुप्रतिक्षित हो, अहिले आएर मात्र सम्भव भयो, अब रकम अभावका कारणले पुल निर्माण रोकिँदैन, रामग्रामको गुरुयोजनालाई पनि यसले सहयोग पुग्छ”

“पुल अभावकै कारण यो महत्वपूर्ण स्थल भएर पनि ओझेल परेको थियो, अब यहाँ ठूलाठूला होटल, रिर्साेट खुल्नेक्रम शुरु हुन्छ, हामीले आधारभूत विकासको पूर्वाधार तयार गरेका छौँ, अब यहाँको विकासमा स्थानीय जनप्रतिनिधि, सर्वसाधारण सबै लाग्नुपर्दछ”, उहाँले भन्नुभयो ।

प्रदेशसभा सदस्य वैजनाथ जयसवालले रामग्राम स्तूप, पण्डितपुर र अनोमाघाटको विकासमा विशेष जोड दिन आग्रह गर्नुभयो । भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी दुई वर्षभित्र सम्पन्न गर्ने गरी ३५ मिटर लम्बाइको उक्त पुल एसिआटिक/प्रदीप/जुम्ली जेभी रुपन्देहीलाई निर्माणको जिम्मा दिएको छ ।

निर्माण कम्पनीसँग गत असोज २ गते कूल रु छ करोड ६२ लाख १८ हजार लागतमा ठेक्का सम्झौता गरिएको सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीले जनाएको छ ।मुख्यमन्त्री पोखरेलले आजै प्रदेश सरकारले निर्माण गर्न लागेको पश्चिम नवलपरासीको सुनवलस्थित बेलारी खोला पुल र वनकट्टी–छडेनी जोड्ने झरही खोला पुलको पनि शिलान्यास गर्नुभएको थियो ।

प्रकाशित मिति : February 26, 2020 at 4:18 pm