एमसीसी र गोकुल बाँस्कोटाबारे छलफल गर्न नेकपा सचिवालय बैठक
१४ फागुन, काठमाडौं । अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता र पूर्वमन्त्री गोकुल बाँस्कोटाको ‘कमिसन बार्गेनिङ’ प्रकरणबारे छलफलका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले ११ बजेदेखि बैठक सुरु हुनेछ ।

यस्तै नेकपा उपाध्यक्ष वामदेव गौतमको इच्छाबमोजिम राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न कार्यदल घोषणापछि भएको नेकपाको चर्को आलोचनाका विषयमा पनि बैठकमा छलफल तथा समीक्षा हुने बताइएको छ ।
बैठकमा नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यदलले दिएको एमसीसीको पूर्ण अध्ययन गरिसकेकाले त्यसबारे धारणा राख्ने बुझिएको छ । गत फागुन ९ गते झलनाथ खनाल संयोजकत्वको एमसीसी अध्ययन कार्यदलले करिब २० दिन लगाएर एमसीसीको निष्कर्षसहित प्रतिवेदन मस्यौदा तयार पारेर बुझाएको थियो । यो कार्यदलमा भीम रावल र प्रदीप ज्ञवाली सदस्य छन् ।
प्रकाशित मिति : 08:11







