जनयुद्धका कारण नेपालमा गणतन्त्र आएको होः उपराष्ट्रपति पुन
११ फागुन, थवाङ । उपराष्ट्रपति नन्दबहादुर पुनले माओवादी जनयुद्धका कारण मुलुकमा राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना भएको बताउनुभएको छ । माओवादी जनयुद्धको उदगम थलो रोल्पाको थवाङस्थित आफैंले विद्यालय तहको अध्ययन गरेको वीर बलभद्र माविलाई नमुना विद्यालय घोषणा गर्न आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले जनयुद्ध सम्झिनुभयो ।
मुलुकका अन्य भेगमा गणतन्त्रको नारा सिथिल भइसकेका बेला थवाङ र रोल्पाले उक्त नारा सशस्क्त रुपमा उठाएर मुलुकभर नै जागरण पैदा गरेको उहाँको भनाइ थियो । सिंगो मुलुकका जनतालाई राजनीतिक अधिकारप्रति सचेत गराउन थवाङले खेलेको भूमिका अन्तर्राष्ट्रियकरण भइसकेको उल्लेख गर्नुभयो । अब भने थवाङले राजनीतिक मूलप्रवाहमा समाहित भएर समृद्धि र विकासको अभियानमा सामेल हुनुपर्ने उपराष्ट्रपतिले बताउनुभयो । ‘इतिहासमा थवाङ र रोल्पा सधैं राज्यसत्ताको विरुद्ध उभियो ।
जनयुद्धमार्फत गणतन्त्रको झण्डा उठायो’, उपराष्ट्रपतिले भन्नुभयो, ‘जनयुद्धकै कारण राजतन्त्रको अन्त्य भएको छ । नेपालबाट सामान्तवादको अन्त्य भएको छ । गणतन्त्र र संविधान हाम्रो बच्चा हो । बाबुआमाले माया गरेर बालबच्चा हुर्काएजस्तै हामीले संविधानको संरक्षण गर्नुपर्छ, यसलाई हुर्काउनुपर्छ ।’ संविधानले नागरिकलाई कुनै पनि अधिकारबाट बञ्चित नगराएको भन्दै उहाँले संविधानले स्वामित्व थवाङ र रोल्पाले लिने स्पष्ट गर्नुभयो । ‘सधैं एउटै बाटोमा मात्र हिंडिरहँदा परिस्थितिले लात हान्न सक्छ, थुक्न सक्छ’, उहाँले भन्नुभयो, ‘पहिल्यैदेखि राज्यसत्ताका विरुद्ध उभिएका हामी अब स्थानीय तह, प्रदेश र संघीय सरकारमा छौं । अब जनतालाई माग राख्न मात्र सिकाएर हुँदैन ।

हामीले माग पूरा गर्नुपर्छ ।’ रोल्पालीहरु मुलुकको साधनश्रोत वितरण गर्ने ठाउँमा पुगेकाले अब आफ्नो गाउँ र जिल्लाको सबै मिलेर विकास गर्नुपर्नेमा उहाँको जोड थियो । विगतमा रोल्पाली नेतृत्व र जनता एकाकार हुँदा मुलुकबाटै सामन्तवादको अन्त्य भएको भन्दै उहाँले विकास र समृद्धि हासिल गर्न पनि नेतृत्व र जनता एकाकार हुनुको विकल्प नरहेको बताउनुभयो ।
उपराष्ट्रपतिले आफूहरुले सहिदको रगतको मूल्य नभुलेको चर्चा गर्दै सहिदलाई कुनै व्यक्ति र पार्टीको पेवा बनाउने प्रयास नगर्न पनि चेतावनी दिनुभयो । विद्रोही हुँदा र हाल राजनीतिको मूलप्रवाहमा प्रवेश गरेपछिको रोल्पा र थवाङको अवस्थामा धेरै फरक आइसकेको भन्दै उहाँले केही पनि भएन भन्ने निराशा त्याग्न आग्रह गर्नुभयो । ‘नुन बोक्न दाङ र कोइलाबास जानुपथ्र्यो । अहिले आफ्नै घरमा नुन आइपुगेको छ । सहिद मार्गका कारण थवाङसम्म गाडी आएको छ । खोलाहरुमा पुल बनेका छन् ।
कृषिमा आधुनिकीकरण हुँदैछ । नेपालकै ठूलो सोलार ग्रिड थवाङमा बनिरहेको छ । स्वास्थ्य र शिक्षाको अवस्थामा धेरै सुधार भएको छ । सिंगो जिल्ला विद्युतीकरण हुँदैछ’, उपराष्ट्रपतिले भन्नुभयो, ‘ रोल्पा र थवाङको अनुहार फेर्ने कामको नेतृत्व क्रान्तिबाट आएका रोल्पाली नेताहरुले गरिरहेका छन् ।’
फरक प्रसंगमा उपराष्ट्रपति पुनले संविधानमा शिक्षालाई मौलिक हकका रुपमा लेखिए पनि निजीकरणलाई निरुत्साहन नगरेसम्म सामुदायिक विद्यालयको स्तर सुधार्न कठिन हुने बताउनुभयो । प्रतिस्पर्धी र राष्ट्रहितमा समर्पित विद्यार्थी उत्पादन गर्ने खालको शिक्षा नीति जरुरी रहको उहाँले बताउनुभयो । धनीलाई एक प्रकारको र गरिबलाई अर्को प्रकारको शिक्षा हुने अवस्था कायमै रहे समाजमा द्वन्द्व, अशान्ति, भ्रष्टाचार र अनियमितता नघट्ने भएकाले सम्वद्ध सबैलाई त्यसलाई मनन गर्नुपर्ने उहाँको भनाइ थियो ।
उपराष्ट्रपतिले सोही विद्यालयबाट ३४ वर्षअघि एसएलसी पास गर्नुभएको थियो । कार्यक्रममा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले यसै आर्थिक वर्षभित्र रोल्पा जिल्लाभर विद्युतीकरण गरिसक्ने योजना रहेको बताउनुभयो । ‘यही वर्षभित्र जिल्लाको सबैतिर बिजुली पुगिसक्छ’, मन्त्री पुनले भन्नुभयो, ‘अब अँध्यारो रोल्पा रहँदैन ।
रोल्पा उज्यालो हुन्छ ।’ रोल्पाबाट प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री पुनले नेपालकै सबैभन्दा ठूलो सोलार मिनी ग्रेड थवाङमा निर्माण भइरहेको भन्दै अब थवाङमा जनताले अँध्यारोमा बस्ने दिन सकिएको घोषणा गर्नुभयो । यस्तै धेरै सडक आयोजनाहरुको स्तरोन्नतीको काम अघि बढेको भन्दै उहाँले रोल्पाको विकासमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । कृषि, व्यापार प्रर्वद्धन र पर्यटक भित्र्याएर जिल्लाको मुहार फेर्न सकिने चर्चा गर्दै उहाँले आफू त्यस काममा लागिपरेको बताउनुभयो ।
मन्त्री पुनले राजनीतिक रुपमा केही फरक भए पनि विकासका काममा सबै मिलेर अघि बढ्नुको विकल्प नहरेको बताउनुभयो । ‘राजनीतिक रुपमा हामी फरक ठाउँमा हुन सक्छौं । थवाङमा पनि होला’, मन्त्री पुनले भन्नुभयो, ‘हामी सबैको साझा दुश्मन गरिबी, अविकास र पछौटेपन हो । त्यसविरुद्ध मिलेर जुधौं ।’ उहाँले राजनीतिको केन्द्रमा रहेको रोल्पालाई अब विकास, समृद्धि, उद्यमशील र पर्यापर्यटनको केन्द्र बनाउने घोषणा गर्नुभयो ।
विकासको सबैभन्दा आधारभूत पूर्वाधार शिक्षा भएकाले राज्य, अभिभावक सबैले शिक्षामा लगानी बढाउनुपर्ने स्पष्ट गर्नुभयो । मन्त्री पुन र पूर्वसभामुख ओनसरी घर्तीले आफूहरुको दुई÷दुई महिनाको तलब वीर बलभद्र नमुना माविको अक्षयकोषका लागि दिने घोषणा गर्नुभयो ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपालमा गणतन्त्र स्थापना गर्न थवाङको ठूलो भूमिका रहेको स्मरण गर्नुभयो । थवाङ सचेत र जागृत जनता बस्ने थलो भएको भन्दै मन्त्री पोखरेलले अब स्तरीय शिक्षाको थलो बनाउन सुझाव दिनुभयो ।
प्रकाशित मिति : 19:41







