मान्छे हेरेर गाडी भाडा !
९ फागुन, खलङ्गा । सडक यातायात पुगेपछि सहजताका साथ यात्रा गर्ने सपना देखेका यहाँका नागरिक चर्को भाडा तिर्न परेपछि निराश भएका छन् । जोखिमपूर्ण यात्राका साथै व्यवसायीले मनोमानी भाडा असुल्दा विपन्न नागरिकलाई गाडी चढ्नै समस्या भएको छ ।
अधिकांश ग्रामीण सडकमा सञ्चालन हुने जिपले प्रतिकिलोमिटर ३८ रुपैयाँसम्म भाडा लिने गरेको पाइएको छ । व्यवसायीले जाजरकोट–डोल्पा सडकको ७६ किमि दूरीमा पनि दुई हजार रुपैयाँ भाडा लिने गरेको यात्रुको गुनासो छ । पैदल हिँड्दा एक दिनमा घरबाटै रोटी बोकेर बिनापैसै पुगिने ठाउँमा गाडी चढ्दा १५ सय रुपैयाँ तिर्नुपरेको नलगाड १३ का तेजबहादुर विकले बताए ।

जिल्लाका दुई दर्जनभन्दा बढी ग्रामीण क्षेत्रमा रहेका सडकमा यातायातका व्यवसायीले मनोमानी भाडा असुल्ने प्रवृत्ति बढिरहेको खबर गोरखापत्र दैनिकमा छ । अधिकांश सडकमा ठूला गाडी नचल्ने भएकाले जिपले यात्रु हेरेर भाडा लिँदा विपन्न नागरिकलाई गाडी चढ्नै समस्या भएको छ । स्थानीय प्रशासनले निर्धारण गरेको भाडाभन्दा तीन गुणासम्म भाडा असुल्न थालेपछि यात्रु मर्कामा परेका हुन् ।
जोखिमपूर्ण यात्रा, त्यसमा पनि महँगो भाडा लिँदा गाडी चढ्नै अप्ठ्यारो भएको कुशे ५ का हरिबहादुर सिंह बताउँछन् । उनले स्थानीय प्रशासनले भाडादर कायम गरे पनि अनुगमन नगर्दा यातायात व्यवसायीको मनोमानी बढिरहेको गुनासो गरे । उनका अनुसार पाँचसिटे जिप (बोलेरो) ले १०-१२ यात्रु बोक्दासमेत बाटोमा पर्ने प्रहरी चौकी मूकदर्शक बन्ने गरेका छन् ।
स्थानीय शिक्षक ईश्वरी आरसीका अनुसार ४० किमिको खलङ्गा–पैँक–छेडा सडकमा यातायात व्यवसायीले १५ सय रुपैयाँ भाडा लिने गरेका छन् । यातायात व्यवसायीले खलङ्गा–खारा सडकमा ६ सय, मनघाट–सुयाडामा ५ सय, खलङ्गा–थलहमा ६ सय र थलहबजार–छेडाबगर खण्डमा १ हजार रुपैयाँ भाडा असुल्ने गरेका छन् ।
ग्रामीण सडकमा सञ्चालन भएका यातायातका साधनले मनपरी भाडा उठाएको गुनासो आएकामा अब छिटै सरोकारवालाको बैठक बसेर समाधान गरिने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले आश्वासन दिए ।
प्रकाशित मिति : February 21, 2020 at 7:24 am







