परराष्ट्रमन्त्री ज्ञवाली भोलि जेनेभा जाँदै
८ फागुन, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही फागुन १२ गतेदेखि जेनेभामा हुने संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ४३औँ उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि राति त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

मन्त्री ज्ञवालीले उक्त बैठकलाई फागुन १३ गते सम्बोधन गर्नाका साथै जेनभास्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईले आयोजना गर्ने स्वागत समारोहमा कूटनीतिक समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जेनेभामा रहँदा उहाँले राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तसँग भेटवार्ता गर्ने तथा विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ ।
मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी तथा जेनेभास्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि रहनुहुनेछ । उहाँ फागुन १६ गते स्वदेश फर्कनुहुनेछ ।
प्रकाशित मिति : February 20, 2020 at 7:37 pm









