शिवरात्रिमा काठमाडौंको ट्राफिक व्यवस्थापन यस्तो ! (रुटसहित)
८ फागुन, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रि पर्व केन्द्रित कार्ययोजनासहितको ट्राफिक व्यवस्थापनको तयारी पूरा गरेको छ । पशुपति आउने भक्तजन एव दर्शनार्थीको सवारी आवागमन सहज तथा व्यवस्थित बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको तयारी गरेको हो ।
महाशाखा प्रमुख (प्रहरी वरिष्ठ उपरीक्षक) भीमप्रसाद ढकालका अनुसार विमानस्थल हुँदै पशुपतितर्फ लाग्ने विदेशी पर्यटक, २ पाङ्ग्रे र साना सवारी साधनका लागि तिलगंगा र नक्साल कालोपुल हुँदै आउनेलाई सिफल चौर र अमलकोट, पशुपति विकास कोष र संस्थानका सवारी साधनकालाई देवउद्यानस्थित कोषको कार्यालय, पासबाहक, सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई महानगरीय प्रहरी वृत्त, गौशाला र बाग्मती कोरिडोर, जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुह्येश्वरी पारि पार्किङको व्यवस्था मिलाइएको छ ।
आवागमनको व्यवस्था मिलाउन ५ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिने उनको भनाइ छ ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले दर्शानार्थीको अत्याधिक चाप हुने हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न विज्ञप्तिमार्फत सर्वसाधारणमा अनुरोध गरेका छन् । उनका अनुसार तिलगंगा, गौशाला, मित्रपार्क र चाबहिल भई चल्ने मालवाहक सवारी साधनलाई तीनकुने, सिनामंगल, जोरपाटी नारायणटार, चुच्चेपाटी, सुकेधारा, नयाँबानेश्वरलगायत स्थानबाट गौशाला क्षेत्र प्रवेशमा रोक लगाई वैकल्पिक सडक प्रयोगको व्यवस्था मिलाइएको छ ।
प्रकाशित मिति : February 20, 2020 at 7:39 am







