७ असार २०८३, आइतबार | Mon Jun 22 2026

कोरोनाबाट मृत्यु भएकाहरुको सम्झनामा चिनियाँ भाषी पथप्रदर्शकहरुद्धारा दीप प्रज्जवलन

४ फागुन, काठमाडौँ । चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा नेपालका चिनियाँ भाषी पथप्रदर्शकहरुले राजधानीमा दीप प्रज्जवलन तथा प्रार्थना सभाको आयोजना गरेका छन् । नेपाल चाइनिज गाइड एशोसिएशन नेग्गाको आयोजनामा पाटनस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण हिरण्यवर्ण महाविहारमा शनिवार साँझ बत्ती बालिएको हो ।


भाइरसको संक्रमणबाट दिवंगत भएकाहरुको सम्झना तथा उपचाररत विरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै महाविहारका पुजारी तथा स्थानीयको सहयोगमा प्रज्ञापरमिताको पाठ एवम् प्रार्थनासमेत गरिएको थियो । कार्यक्रमका सहभागीले चिनियाँ तथा नेपाली भाषामा “उठ चीन, जाग उहान”, “कठिन घडीमा, हामी साथमा”, “संक्रमणविरुद्धको जीत निश्चित छ”, “चीनको लागि प्रार्थना” लगायतका नारा लोखिएको ब्यानर तथा प्लेकार्ड बोेकेका थिए ।

नेग्गाका अध्यक्ष निशान प्रधानले नेपालको असल मित्र, असल छिमेकी र असल साझेदार मुलुक रहेको चीनले भोग्नुपरेको कठिन परिस्थितिमा हाम्रो साथ रहेको सन्देश दिन उक्त कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । कार्यक्रममा साइनो नेपाल कल्चार एण्ड प्रमोशन सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले चीनमा फैलिएको संक्रमणका कारण विश्वका धेरै मुलुकले चीनलाई अलग्याएको सन्दर्भमा नेपालको मुख्य पर्यटन बजारको स्रोतलाई कायमै राख्न नेपालीहरु चिनियाँको साथमा छन् भनेर दिने सन्देशले विशेष अर्थ राख्ने बताउनुभयो ।

केही मुलुकहरुले संक्रमणपछिको केही समयसम्म पनि चिनियाँ पर्यटकमाथिको प्रतिवन्ध कायम राख्ने हुनाले विश्वभ्रमणका लागि तयार हुने चिनियाँलाई नेपाल उपयुक्त गन्तब्य हुने र त्यसका लागि नेपालको पर्यटन क्षेत्रका सबै सझेदारहरुले तयारी थाल्नुुपर्ने कुरामा उहाँले जोड दिनुभयो । नेपालमा करिब चार सयको संख्यामा चिनियाँ भाषाका टुरिष्ट गाइड रहेका छन् ।

प्रकाशित मिति : February 16, 2020 at 11:19 pm