१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

आर्मीलाई १–० गोलले पराजित गर्दै मच्छिन्द्र पहिलो पटक शहीद स्मारक लिगको च्याम्पियन

३ फागुन, काठमाडाैँ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई हराउँदै मच्छिन्द्र क्लब शहीद स्मारक ए डिभिजन लिगको नयाँ च्याम्पियन बनेको छ । आर्मीलाई १–० गोलले पराजित गर्दै मच्छिन्द्र पहिलो पटक उपाधि जित्न सफल भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलको ३३औँ मिनेटमा आर्मीका विकास तामाङले आत्मघाती गोल गर्न पुगे । मच्छिन्द्रका रन्जित धिमालले प्रहार गरेको फ्री किक क्लियर गर्ने क्रममा आर्मीका तामाङले आफ्नै गोल पोष्टमा गोल गर्न पुगेका थिए । सो आत्मघाती गोल रोक्ने क्रममा आर्मीका गोलकिपर विकेश कुथु पोलमा ठोक्किएर घाइते भए । कम्मरमा चोट लागेका उनलाई उपचारका लागि नजिकैको ब्लु क्रस अस्पताल लगिएका थियो ।

विकेशको ठाउँमा विश्वास चौधरीलाई खेलाइएको थियो । खेल अवधिभर मच्छिन्द्र आर्मीमाथि हाबी रह्यो । आर्मीले गोल फर्काउने प्रयास गरे पनि मच्छिन्द्रका अगाडि निरीह सावित भयो । खेलको ६८औँ मिनेटमा भरत खवास तथा ७९औँ मिनेटमा टङ्क बस्नेतको प्रहारलाई मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे । खेलको ८५औँ मिनेट मच्छिन्द्रका दिपक राईको फ्री किक गोल पोष्ट बाहिर गयो ।

मछिन्द्र १३ खेलमध्ये १० मा जित, दुईमा हार तथा एकमा बराबरीका साथ ३१ अङ्कसहित लिगको विजता बनेको हो । उपाधिसँगै उसले रु ५० लाख पुरस्कार प्राप्त ग¥यो । आर्मीले १३ खेलमध्ये नौ खेलमा जित, दुईमा हार तथा दुईमा बराबरी खेल्दै २९ अङ्क जोडेर लिगको उपविजेतामै चित्त बुझायो । उसले रु ३५ लाख पुरस्कार प्राप्त ग¥यो । मच्छिन्द्र अघिल्लो संस्करणमा पुछारबाट दोस्रो स्थानमा रहेको थियो । लिग च्याम्पियन बन्न मच्छिन्द्रसित बराबरी खेले पनि पुग्ने भए पनि आर्मीले स्तरीय खेल प्रदर्शन गर्न सकेन । मछिन्द्र उपाधि होडमा पहिलो पटक सामेल भएको हो भने आर्मी विसं २०६३ को लिगमा नेपाल पुलिससित पराजित भई उपविजेता बनेको थियो ।

गत मङ्सिर २७ गतेदेखि शुरु भएको शहीद स्मारक लिगको उद्घाटन खेलमा मच्छिन्द्रले ब्रिगेड ब्वाइजलाई २–० गोलले हराउँदै लिगमा विजयी शुरुआत गरेको थियो । मच्छिन्द्र विसं २०६० मा पहिलो पटक ए डिभिजन लिगमा उक्लिएको हो । खेलको म्यान अफ दी म्याच मच्छिन्द्रका आन्द्रेस निया घोषित भए । लिगमा २८ अङ्क बनाएको मनाङ–मस्र्याङ्दी क्लब तेस्रो, २६ अङ्क बनाएको थ्री स्टार चौथो तथा २० अङ्कसहित नेपाल पुलिस क्लब पाँचौँ तथा १९ अङ्क बनाएको जाउलाखेल युथ क्लब छैटौँ भयो ।

उनीहरुले क्रमश ः रु २५ लाख, रु १५ लाख, रु सात लाख र रु पाँच लाख पुरस्कार प्राप्त गरे । लिगमा चार अङ्क मात्र बटुलेको सरस्वती युथ क्लब बी डिभिजनमा घटुवा भएको छ । ए डिभिजन लिग फुटबल प्रतियोगितालाई कतार एयरवेजले मुख्य प्रायोजन गरेको थियो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार कतार एयरवेजले एन्फालाई प्रायोजनस्वरुप रु एक करोड ७० लाख उपलब्ध गराएको थियो । एयरवेजले पहिलो चरणमा रु एक करोड दुई लाख तथा दोस्रो चरणमा रु ६८ लाख प्रदान गरेको थियो । ए डिभिजन लिगमा १४ क्लब सहभागी थिए । हरेक खेलको विजेता टोलीलाई रु ५० हजार प्रदान गरिएको थियो ।

विजेता खेलाडी, प्रशिक्षक तथा टोलीलाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्मारिछरिङ शेर्पालगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

लिगमा भरत, विशाल र अनन्त उत्कृष्ट

लिगको उत्कृष्ट फरवार्ड आर्मीका भरत खवास, थ्री स्टारका अनन्त तामाङ लिगको उत्कृष्ट डिफेन्डर, मनाङ मस्र्याङ्दी क्लबका दीप कार्की लिगकै उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर मच्छिन्द्रका विशाल राई ‘बी’, मच्छिन्द्र क्लबका प्रवेश कटवाल लिगको उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले जनही रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरे ।

मच्छिन्द्रका विशाल राई उत्कृष्ट मिडफिल्डर र न्युरोड टिमका दर्शन गुरुङ युवा खेलाडी चुनिए । दुवैले जनही रु एक लाख पुरस्कार प्राप्त गरे । लिगको फेयर प्ले पुरस्कार थ्री स्टार क्लबले प्राप्त ग¥यो । उसले रु एक लाख पुरस्कार प्राप्त ग¥यो । रासस

प्रकाशित मिति : February 15, 2020 at 10:09 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/