लुम्बिनीको अपराजित यात्रा कायम, जनकपुरको तेस्रो हार
१९ कात्तिक, काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ ।
लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले पूरै २० ओभर खेल्दा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो । हरमीत सिंहले ३३, आदित्य महताले अविजित ३०, सैफ हसनले २८, तृत राज दासले १८ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ लुम्बिनीका डार्सी शर्टले तीन तथा शेर मल्ल र तिलक भण्डारीले दुई–दुई विकेट लिए । रुवेन ट्रम्पलमनले एक सफलता हात पारे । त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको लुम्बिनीले २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन जोड्यो ।
रोहित पौडेलले ३४, निरोशन डिकवेलाले २७, दीलिप नाथले २५ तथा आसिफ शेखले २१ रन जोडे । रुबेन ट्रम्पलमनले १५ तथा शमिम हुसेनले १३ रन बनाए ।
बलिङतर्फ जनकपुरका राहुल यादव र विशाल शुस्लिङले दुई–दुई तथा हरमीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले एक–एक विकेट लिए ।
प्रकाशित मिति : November 5, 2026 at 4:10 pm










