नायिका महिमा सिलवालको बसको ठक्करबाट मृत्यु
१ फागुन, काठमाडाैँ । नायिका महिमा सिलवालको बसको ठक्करबाट मृत्यु भएको छ । धादिङको गजुरीमा बसले ठक्कर दिँदा चलचित्रकी नायिका महिमा सिलवाल र उनकी बहिनी सर्मिला सिलवालको मृत्यु भएको हो । ‘कारबाही’ चलचित्रबाट डेब्यु गरेकी महिमाले अप्रिल फुल, चियर्स, दानव, जिग्लोलगायत चलचित्रमा काम गरेकी थिइन्।

धादिङको गजुरी इलाका प्रहरी कार्यालयका अनुसार बुधबार साँझ पौने ६ बजेतिर धादिङको गजुरी–२ मा नायिका सिलवाल र उनकी बहिनी सर्मिला सिलवाल सवार स्कुटरलाई विपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते भएकी २२ वर्षीया महिमाको उपचारका क्रममा गजुरी स्वास्थ्य केन्द्रमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनकी बहिनी २० वर्षीया सरु भनिने सर्मिलाको उपचारकै क्रममा काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएको छ । प्रहरीका अनुसार सिलवाल दिदीबहिनी बा ९८ प ७०५८ नम्बरको स्कुटरमा काठमाडौंबाट आफ्नो घर भरतपुर महानगरपालिका–१२ शिवनगर जाँदै थिए। यसै क्रममा भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले उनीहरू सवार स्कुटरलाई ठक्कर दिएको हो ।
प्रकाशित मिति : February 13, 2020 at 11:28 am









