नेकपाको एमसीसी कार्यदलको तेस्रो बैठक सिंहदरबारमा जारी, के आउला निष्कर्ष ?
२८ माघ, काठमाडौँ । एमसीसीको बारेमा अध्ययन गरेर सुझाव दिन १० दिनको समय दिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीले गठन गरेको कार्यदलको बैठक नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छ । केन्द्रीय कमिटीले दिएको म्याद सकिन एक दिनमात्र बाँकी रहँदा कार्यदलका संयोजक र सदस्यहरू अध्ययनको निष्कर्ष निकाल्ने तयारीमा लागेका छन ।
जारी बैठकमा कार्यदलका संयोजक पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पार्टी स्थायी कमिटीका सदस्य एवं पूर्व उपप्रधानमन्त्री भिमबहादुर रावल र पार्टी स्थायी कमिटीका सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी रहेका छन । यसअघि माघ २० र २४ मा बसेको बैठकमा एमसीसीको बारेमा गम्भीर रूपमा छलफल भएको थियो ।

केन्द्रीय कमिटी बैठकले दिएको कार्यादेशका आधारमा अध्ययन गर्ने, सामग्री जुटाउने र विश्लेषणको प्रक्रिया थालनी गरेको छ । यसअघि कार्यदलका संयोजक खनालले कुनै आवेग वा आक्रोश, सेन्टिमेन्ट आदिका आधारमा अघि नबढी तथ्यका आधारमा सत्य पत्ता लगाउने प्रक्रियामार्फत अघि बढेको बताएका थिए ।
एमसीसीको बारेमा सुझाव दिने कार्यदलको सदस्यमा रहेका रावल र ज्ञवालीले परस्पर बिरोधी धारणा दिँदै अाएका छन । ज्ञवाली कुनै पनि हालतमा एमसीसी पास गर्न्रपर्ने र रावल संशोधनविना एमसीसी अनुमोदन गर्दा राष्ट्रघात हुने तर्कमा अडिग रहेका छन । यद्यपी कार्यदलका संयोजक खनालले भने विगतमा जसले जे भनेको भए पनि त्यो निजी धारणा रहेको र कार्यदलले बिना आग्रह पूर्वाग्रह दस्ताबेज अध्धयन गरेर पार्टीलाइ सुझाव दिने बताउँदै आएका छन ।
प्रकाशित मिति : 09:31









