कांग्रेस संसदीय दलको बैठक : संसदमा जारी अवरोधका विषयमा छलफल गरिँदै
२८ माघ, काठमाडौं । संसदमा जारी अवरोध र अबलम्बन गर्नुपर्ने कदमका विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आज (मंगलबार) संसदीय दलको बैठक बस्दै छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान साढे १० बजे बैठक बस्दैछ ।
प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको कांग्रेसले बैठकमा यसैबारे छलफल गर्नेछ । उसो त कांग्रेसले गत बिहीबार, शुक्रबार र आइतबार संसद बैठक अवरुद्ध गरिसकेको छ ।
संसदीय दलका उपनेतासमेत रहेका उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही ढंगले भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै कांग्रेस असन्तुष्ट छ । यता आजै दिउँसो १ बजे प्रतिनिधिसभा बैठक पनि बोलाइएको छ ।

प्रकाशित मिति : 07:55







