२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

कोपा डेल रे : बार्सिलोना र रियल मड्रिड क्वाटरफाइनलबाटै बाहिरिए

२४ माघ, काठमाडौं । स्पेनिस कोपा डेल रेको उपाधि दाबेदार मानिएका रियल मड्रिड र बार्सिलोना क्वाटरफाइनलबाट बहिरिएका छन् । कोपा डेल रेको बिहीबार राति भएको खेलमा पराजित हुँदै दुवै टोली प्रतियोगिताबाट बाहिरिएका हुन् ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियल मड्रिड रियल सोसिडाडसँग ३–४ ले पराजित भयो । खेलको २२औं मिनेटमा सोसिडाडका मार्टिन ओडेगार्डले गोल गर्दै खेलमा अग्रता बनाएका थिए । उनको गोलले सोसिडाड पहिलो हाफमा १ गोलले अगाडि रह्यो ।

दोस्रो हाफमा सोसिडाडले ३ गोल थप्यो । खेलको ५४औै र ५६औं मिनेटमा अलेक्जेन्डर इसाकले गोल गरे । उनको लगातार २ गोल पछि सोसिडाडले ३ गोलको अग्रता बनायो ।

यता मड्रिडका लागि खेलको ५९औं मिनेटमा ब्राहिमको पासमा गोल गर्दै मार्सेल्लोले खाता खोले । तर, ६९औं मिनेटमा मिचेल मेरिनोले गोल गर्दै सोसिडाडलाई ४–१ को अवस्थामा पुर्‍याए ।

त्यसपछि खेलको ८१औं मिनेटमा रोड्रिगो र अतिरिक्त समयमा नाचोले गोल गर्दै रियललाई खेलमा फर्काउन प्रयास गरे पनि यसका लागि उनीहरूको गोल पर्याप्त हुन सकेन । र, सोसिडाडले खेल ४–३ ले आफ्नो पक्षमा पार्‍यो ।

बिहीबार राति नै भएको अर्को खेलमा बार्सिलोना पनि एथ्लेटिक बिल्बाओ क्लबसँग पराजित भयो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा सर्जियो बसक्वेट्सले आत्मघाती गोल गर्दा बार्सिलोना पराजित हुन पुग्यो । –एजेन्सी

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार ०८:०९