१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

साउथ अष्ट्रेलियास्तरीय क्लबहरुको क्रिकेटमा एन्का सहभागी हुँदै

-बालगाेपाल उपाध्याय

२१ माघ, एडिलेड । साउथ अष्ट्रेलियास्तरीय क्लबहरुको १० बर्ष मुनिका खेलाडीहरुकाे टि-२० क्रिकेटमा एडिलेड नेप्लीज क्रिकेट एसोसिएसन (एन्का)ले पनि सहभागिता जनाएको छ । गत आइतबार, फेब्रुअरी २ बाट शुरु हुने भनिएको प्रतियोगिता बर्षाका कारणले आगामी आइतबारबाट शुरु हुदैछ ।

साउथ अष्ट्रेलियन क्रिकेट एसोसिएसन अन्तर्गतको साउथ सेन्ट्रल जुनियर क्रीकेट एसोसिएसनकाे आयोजनामा फेब्रुअरी २ बाट मार्च १ सम्म प्रत्येक आइतबार पाँच हप्ता सम्म खेलाउने कार्यक्रम रहेकोमा गत अाईतवारकाे बर्षाका कारणले एक हप्ता पछाडि सरेको एडिलेड नेप्लीज क्रिकेट एसोसिएसन (एन्का)का अध्यक्ष बिजय जोशीले बताउनुभयो ।

साउथ अष्ट्रेलियामा रहेका नेपाली समुदायकाे क्रिकेट क्लब एन्का सहित १८ बटा क्लबहरु सहभागी हुने यस प्रतियोगितालाइ साउथ अष्ट्रेलियाकै खेलाडी उत्पादन गर्ने प्रारम्भिक र महत्त्वपूर्ण प्रतियोगिताको रुपमा लिइएको छ । बालबालिकालाई क्रिकेटप्रति आकर्षण गर्ने समेत उद्देश्यले आयोजित प्रतियोगिता टि२० हुने तर खेलाडी संख्या ९ जना मात्रै रहने जनाईकाे छ ।

एन्काले गत बर्ष २०१९को अन्तमा उलवर्थ (woolworth) क्रिकेट बलास्ट अन्तर्गत आठ हप्ता सम्म ७८ जना नेपाली र केही गैर नेपाली समुदायका खेलाडीलाई प्रशिक्षण दिएकाे थियाे । जसबाट छनाैट भएका नौ जना खेलाडीहरु यस प्रतियोगिता सहभागी हुँदैछन् । जसमा तीन खेलाडी अष्ट्रेलियन समुदायका रहेका छन् । भने कोचमा पारस जोशी र दिपक क्षेत्री हुनुहुन्छ ।

नेपाली क्लबमा अष्ट्रेलियनहरुको सहभागीतालाइ नेपालीहरु प्रतिको बिश्वासको रुपमा लिनुहुने अध्यक्ष जोशी भन्नुहुन्छ ‘यहाँ धेरै स्थानीय अष्ट्रेलियन समुदायको बाहुल्यता भएका क्लब हुदाहुदै एन्काको प्रशिक्षणलाई मन पराएर नै अष्ट्रेलियनहरुले पनि बालबालिकाहरुलाइ आफ्नो क्लबमा भर्ना गरेको हो ।’

यो प्रतियोगिता सबै भन्दा जुनियर भएकाले यसबाट क्रमस बिकास गर्दै लैजानसक्दा नेपाली समुदायबाट पनि अष्ट्रेलियाको राष्ट्रिय टिममा पुग्ने सम्भाबना हुने अध्यक्ष जोशीको विश्वास रहेको छ । उहाँ भन्नुहुन्छ ‘`हाम्रो पुस्ता त बयस्क भए पछि अष्ट्रेलिया आएर खेल्न सुरु गर्दा स्थानीय तहबाट माथि जाने सम्भाबना कम भयो । त्यसैले नयाँ पुस्तालाइ सानैबाट यस क्षेत्रमा लगाउदा जुनियरबाट प्रिमियर, स्टेट हुँदै राष्ट्र स्तर सम्म पुग्न सफल हुन् भनेर यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने गरेकाे हाे ।’

प्रकाशित मिति : February 4, 2020 at 12:15 pm