११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

कर्णालीमा कुष्ठरोगका नयाँ बिरामी भेटिए

१० माघ, वीरेन्द्रनगर । कर्णाली प्रदेशमा विगतका वर्षको तुलनामा कुष्ठरोगका बिरामी घट्दो क्रममा रहेका भए पनि नयाँ बिरामी फेला पर्ने क्रम भने रोकिएको छैन । प्रदेशका १० जिल्लाको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ८९ बिरामी फेला परेका छन् । सरकारले विसं २०६६ मा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । प्रति एक लाख जनसङ्ख्यामा एक जना कुष्ठरोगका बिरामी फेला पेरमा निवारण भएको अवस्था मानिने भएता पनि कर्णालीमा भने यो सङ्ख्या बढी हुन आउँछ । स्वास्थ्य निर्देशनालयका अनुसार कर्णालीमा आव २०७४/७५ मा ११५, २०७३/७४ मा ११९, २०७१/७२ मा १०८ नयाँ कुष्ठरोगका बिरामी फेला परेका थिए ।

तुलनात्मकरूपमा कर्णालीका जाजरकोट, कालिकोट, सुर्खेत र सल्यान जिल्लामा नयाँ बिरामीको सङ्ख्या बढी छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आव २०७५÷७६ जाजरकोटमा १९, जुम्लामा पाँच, हुम्लामा दुई, डोल्पामा दुई, दैलेखमा नौ, कालिकोटमा सात, मुगुमा पाँच, रुकुमपश्चिममा सात, सल्यानमा ११ र सुर्खेतमा २२ कुष्ठरोगका बिरामी फेला परेका छन् । स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशका कुष्ठरोग अधिकृत पदम केसीका अनुसार कुष्ठरोगको निवारणको अभियानमा अघि बढेता पनि यसको तथ्याङ्क हेर्दा सन्तोषजनक नरहेको बताउनुभयो ।

कुष्ठरोग सामान्य भइसकेको उल्लेख गर्दै उहाँले कुष्ठरोगबारे जनस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको बताउनुभयो । कर्णालीमा कुष्ठरोग निवारण गर्न निर्देशनालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्यक्टेरियम नामक किटाणुबाट लाग्ने गर्दछ । कम सर्ने सरुवा रोगमा पर्ने कुष्ठरोगले छाला र नशामा असर गर्ने स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारी जोशीले बताउनुभयो ।

उहाँका अनुसार कुष्ठरोगको लक्षण देखिएमा छालामा असर गर्दा रातो वा हल्का फुस्रो रङको दाग देखिने, अनुहारमा छाला बाक्लो हुने, गिर्खाहरु देखापर्ने र स्नायुमा असर गर्दा हातखुट्टामा छुँदा थाहा नपाउने तथा मांशपेशी कमजोर हुने गर्दछन् । यसैगरी कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको आइएनएफ संस्थाले गत आर्थिक वर्षमा ५६ जनाको उपचार गरेको थियो । आइएनएफअन्तर्गत सञ्चालित साइनिङ अस्पताल सुर्खेतका प्रमुख मङ्गल थारूका अनुसार विभिन्न शिविरमार्फत पनि कुष्ठरोगका बिरामीलाई उपचारमा ल्याइने गरेको बताउनुभयो ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार १५:३०