२० कार्तिक २०८१, मंगलवार | Wed Nov 6 2024

बाँदर आतंक : अन्नबाली सखाप बनाएपछि बसाइसराइ

८ माघ, कास्की बाँदर आतंकले अन्नबाली नोक्सानी हुने गरेको कुरा नौलो होइन तर कास्कीको मादी गाउँपालिकाका बासिन्दा बाँदर आतंकका कारण बसाँइ सर्न बाध्य भएको अवस्था सिर्जना भएको छ । ‘गाउँको बीचमा भएको खेती मात्र जोगिन्छ, अन्य स्थानको खेती जोगाउन नसकेर हैरान परिसक्यौँ, अब त बसाइँ सराइ गर्नुबाहेक विकल्प छैन,’ स्थानीयको गुनासो छ ।

गाउँपालिकाको वडा १२ मा चार सय घरधुरी रहेकोमा पाँच प्रतिशत बासिन्दाले मात्र खेती जोगाउन सकिएको छ । घरमा भित्र रहेको अन्नपात, फलफूल केही बाँकी नराखेर घर–घरमै भित्रै पसेरसमेत खान थालेपछि स्थानीय प्रकाश दाहाल बसाइ सरेर तराई झरेका छन् । बाँदर आतंकले गर्दा उत्पादन गर्न नपाएपछि बाँच्ने विकल्प नभएपछि दाहाल बसाइसराइ सर्न बाध्य भएको खबर गोरखापत्र दैनिकमा छ ।

‘उत्पादन गर्न खोज्यो, फूल लाग्दै गर्दा बाँदरले बोट उखाल्न थाल्छन् अनि कसरी उत्पादन हुन्छ ?’ मादी गाउँपालिका १२ का वडाअध्यक्ष चित्रबहादुर गुरुङले भने, ‘बाँदरका कारण ५ सय रोपनी बाँझो भइरहेको छ । कानुनले बाँदर मार्न पाइँदैन, बाँदरले हामीलाई बाँच्न दिएन । अब सबै गाउँले मिलेर हेरालु राख्ने अभियान चलाउने सोच बनाएका छौँ ।’

कफीमा बाँदरले अतिक्रमण गर्न नसक्ने थाहा पाएको भए पनि कफी खेतीतर्फ भने यहाँका किसानले त्यति ध्यान दिन सकेका छैनन् । न त स्थानीय सरकारले खासै पहल गरेको देखिन्छ । खेतीपातीबाट उत्पादन गर्न नपाउनु वा कम हुँदै जानुलगायतका कारणले यहाँका बासिन्दा बसाइसराइसँगै विदेश पलाएन पनि हुने गरेका छन् ।

मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले भने गाउँमा मानिसको जनघनत्व घटेका कारण बाँदरले सताएको बताउँछन् । उनी भन्छन्, ‘हिजो गाउँभरि मानिस थिए, बाँदर थिएनन् । आज गाउँ खाली हुँदै छ, बाँदरको सङ्ख्या वृद्धि भएको छ र अन्नबाली बचाउनै मुस्किल भएको छ ।’

बाँदरका कारण कास्कीको अन्नपूर्ण गाउँपालिकामा पनि समस्या त्यस्तै छ । बादर आतंक राज्यकै समस्या बनेको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरको भनाइ छ । वनजंगलमा खानेकुरा नपाएपछि बाँदर बस्ती पस्न सुरु गरेको र घरभित्र पसेर खानेकुरा खाने गरेको गुनासो गर्दै कुँवरले युवा सहर पस्ने, वैदेशिक रोजगारमा जाने भएकाले यस्तो समस्या आएको बताए ।

रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले आफ्नो क्षेत्रमा बाँदर प्रतिस्थापन गर्ने भन्दै १० लाख रुपैयाँ बजेट छुट्याएको र यसले बाँदर आतंक केही हदसम्म न्यूनीकरण भएको बताए ।

बाँदरका कारण कास्कीका चारवटै गाउँपालिकाका बासिन्दा प्रभावित भएकाले पीडित किसानको मागअनुसार बजेट व्यवस्था गरेर बाँदर नियन्त्रणका लागि आफ्नो गाउँपालिकामा धेरै काम गरिएको ओझाको भनाइ छ । गाउँपालिकाभित्रका बाँदर समातेर राष्ट्रिय निकुञ्जलगायत संरक्षित क्षेत्रमा लैजाने योजनाका लागि बजेट विनियोजन गरिएको हो । स्थानीयको मुख्य पेसा नै कृषि भएकाले यसको व्यवसायीकरण आवश्यक रहेको तर बाँदरबाट बर्सेनि कृषि उपज नष्ट गर्ने कारण समस्या भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार ०६:५३