११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

जाडो छ : कतै औंला त सुन्निएन ? यसरी बच्नुहोस्

२० पुस, काठमाडौं । जाडो याममा औंला सुन्निने, रातो हुने, चिलाउने र घाउ नै हुने समस्या धेरैलाई देखिन्छ । विशेष गरेर महिलाहरुमा यो समस्या धेरै देखिने गरेको छ । कारण हो धेरै पानीसँग खेल्नु वा चल्नुपर्ने स्थिति ।

यो समस्या बालबालिका र वृद्धवृद्धामा पनि देखिने गरेको छ । चिसो पानी चलाइरहने, चिसोमा काम गर्नेमा यस्तो समस्या धेरै देखिने गर्छ । हरेक चिसो मौसममा यस्ता समस्या दोहोरिए तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

लक्षणहरु
यो समस्या भए सुन्निने चिलाउने, रातो खटिरा आउने, पोल्ने, फोका हुने र घाउ हुने गर्छ । सुन्निएर घाउ भए दुख्ने गर्छ । रातो भाग नीलो हुँदै पनि जाने गर्छ । कहिले-काहीं फोकाहरु लामो समयसम्म रहन सक्छ ।

रोकथाम र उपचार
यस्तो समस्याबाट जोगिन मुख्यत: चिसोबाट बच्नुपर्छ । समस्या आइहाले हात-खुट्टालाई चिसो हुनबाट बचाउनुपर्छ । धूमपानले पनि रक्तनली खुम्च्याउने भएकाले यस्ता समस्या भएका मानिसले त यसबाट टाढै रहनुपर्छ । यस्ता समस्या आउन नदिन निम्न केही उपाय अपनाउन सकिन्छ ।

– घर अथवा कोठा न्यानो बनाइ राख्ने ।
– पूर्ण रुपमा शरीर छोप्ने गरी कटन अथवा नरम खालको कपडा लगाउने ।
– हातखुट्टा छोप्न पञ्जा अनि मोजा लगाउने ।
– कतै हिँडनुअघि हातका औंला अनि खुट्टाको व्यायाम गरेर निस्कने ।
– हात-खुट्टालाई मनतातो पानीमा नुन राखी डुबाउने ।
– पानीमा धेरै काम गर्नुपरे पञ्जाको प्रयोग गर्ने ।
– घाममा बस्ने ।

प्रकाशित मिति : २० पुष २०७६, आईतवार ०६:३६