नुवाकोटमा मिनीट्रक दुर्घटना हुँदा दुइ जना गम्भीर घाइते
२१ वैशाख, नुवाकोट । नुवाकोटबाट बालुवा बोकेर काठमाडौँतर्फ गइरहेको मिनीट्रक छहरे–टोखा सडकखण्डको सुनखानीमा दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।
आज बिहान शिवपुरी गाउँपालिका–७ सुनखानीको घ्याम्पेखोला भन्ने स्थानमा मिनीट्रक दुर्घटना हुँदा त्यसका धनी एवं चालक लिखु गाउँपालिका–१ का सुरेन्द्र बस्नेत र सोही स्थानका सहचालक विकास श्रीपाली घाइते भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।
घाइते चालक २९ वर्षीय बस्नेत र सहचालक १७ वर्षीय श्रीपाली दुवैजनाको अवस्था गम्भीर भएकाले उपचारका लागि ग्राण्डी अस्पताल काठमाडौँ लगिएको छ ।
पानी परिरहेको र रातको समयमा तीव्र गतिमा रहेको मिनीट्रक दुर्घटना हुँदा सडकबाट करीब ५०० मिटर तल मिनीट्रक पुगेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार १६:५८