बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
८ पुस, काठमाडौं । जाडोको मौसममा बालबालिकाको स्वास्थ्यमा विभिन्न समस्या आउने भन्दै चिकित्सकले हेरचाहमा बढी ध्यान दिन अभिभावकलाई सुझाव दिएका छन् । भविष्यमा समेत बालबालिकालाई निरोगी बनाउन अहिलेदेखि नै उनीहरूको खानपिन तथा स्याहारसुसारमा उचित ध्यान दिनुपर्छ ।
जाडोयाम बालबालिकाका लागि सबैभन्दा संवेदनशील मौसम हो । बालबालिकालाई रुघाखोकी लाग्ने, श्वासप्रश्वासको समस्या देखिने हुँदा विशेष हेरचाह गर्नुपर्ने सल्लाह चिकित्सकको छ । विशेषगरी ५ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई रुघाखोकी, निमोनियाँजस्ता श्वासप्रश्वासजन्य रोगले सताउने बालरोग विशेषज्ञ डा. जुन डङ्गोलले जानकारी दिए ।
उनका अनुसार पाँच महिनापछि बालबालिका बाहिरी वातावरणमा रमाउन थाल्छन् तर उनीहरू बाहिरी वातावरणमा घुलमिल हुन सक्दैनन् । यसैकारण बालबालिकालाई विभिन्न समस्या देखा पर्न सक्छ । ६ महिनाभन्दा कम उमेरका बालबालिकाको बढी नै हेरचाह गरिनुपर्ने, आमाको दूध मात्र खाने र बाहिरी वातावरणमा नजाने हुँदा उनीहरूमा धेरै समस्या नदेखिने डा. डङ्गोलको भनाइ छ ।
यता पोषणविद् अरुणा उप्रेती भन्छिन्, “चिसो मौसमका कारण अधिकांश बालबालिका बिरामी पर्छन् । हामीले जाडोमा अझ उनीहरूको उचित ख्याल राख्नुपर्दछ ।” जाडोमा रुघाखोकी, ज्वरो, घ्यारघ्यार हुने, हातगोडा फुट्ने र टाउको दुख्नेजस्ता समस्या हुने भएकाले अभिभावकहरूले राम्ररी रेखदेख गर्नुपर्ने उनको सुझाव छ ।
बालबालिकामा चिसो मौसमका कारण कुनै पनि किसिमका शारीरिक समस्या देखा नपरोस् भन्नका निमित्त बच्चाले लगाउने कपडादेखि खाने खानामा समेत विशेष ध्यान दिनुपर्ने डा. उप्रेतीको जोड छ । उनले बालबालिकालाई पुरानो तरिकाकै लुगाजस्तै तीनपत्रे भोटो, टोपी र मोजा लगाइदिनुपर्ने सुझाएको खबर गोरखापत्र दैनिकमा छ ।
डा. डङ्गोलको पनि भनाइ फरक छैन । उनी भन्छन्, “जाडोका बेलामा बालबालिकालाई चिसो नलागोस् भनेर अभिभावकले धेरै लुगा लगाइदिने गर्छन् । यसले बालबालिकालाई न्यानोभन्दा थप समस्या ल्याउनसक्छ । धेरै लुगा लगाइदिँदा बालबालिकालाई पसिना आउनसक्छ र उक्त पसिना शरीरमै सुकेपछि उनीहरूलाई चिसो लाग्छ, जसले रुघाखोकी, निमोनियाँजस्ता समस्याले सताउन सक्छ । बाक्लो लुगा लगाइदिएको अवस्थामा बेलाबेलामा पसिना आए/नआएको हेर्नुपर्छ ।”
बालबालिकालाई आवश्यक भिटामिन ‘डी’ घामबाटै मिल्ने भएकाले साना बालबालिकालार्ई घाममा राखेर तेल लगाइदिने र खेल्न दिनुपर्छ । बच्चा बस्ने र सुत्ने कोठा सधैँ हावा खेल्ने तर न्यानो बनाएर राख्नुपर्ने जानकारी दिँदै डा. उप्रेतीले मौसमअनुसार पाइने फलफूललाई तातोपानीले पखालेर नियमित खुवाउने गर्नुपर्ने बताइन् । बालबालिकामा घ्यारघ्यार हुने तथा ज्वरो आउनेजस्ता समस्या देखा परे कतिपय अभिभावक ‘एन्टिबायोटिक’ औषधिसमेत खुवाइहाल्ने गरेका छन् । उनले भनिन्, “यसले गर्दा बालबालिकालाई पछि गएर विभिन्न किसिमका समस्यासमेत देखापर्न सक्छ, हामीले सकेसम्म चिसो नलागोस् भन्नेमा ध्यान दिनुपर्छ ।”
विशेषगरी बालबालिकाको टाउको र खुट्टालाई न्यायो बनाई राख्नुपर्दछ । यस्तै रुघाखोकी लागेको समयमा मह र अदुवाको रसले पनि फाइदा गर्ने भएकाले उक्त घरेलु औषधिको पनि प्रयोग गर्न सकिने डा. उप्रेतीको आग्रह छ । आयुर्वेदिक चिकित्सक डा. अमितमान जोशी भन्छन्, “अभिभावकले बालबालिकालाई रुघाखोकी लाग्छ भनेर लामो समयसम्म नुहाई दिँदैनन् । यो बालबालिकाको स्वास्थ्यका लागि झन् घातक हुन्छ । बालबालिकाको नियमित सरसफाइ गर्ने गरिएको छ भने जतिपटक नुहाउँदा पनि रुघाखोकी लाग्ने सम्भावना हुँदैन ।” उनले सानो हुँदा कम नुहाइदिने गरिएको छ भने पछिसम्म पनि नुहाउँदा समस्या देखिने प्रस्ट पार्दै बालबालिकाको नियमित सरसफाइ गरिएन भने विभिन्न खालका खटिराजन्य सङ्क्रमण पनि हुनसक्ने बताए ।
प्रकाशित मिति : ८ पुष २०७६, मंगलवार ०७:५७