२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि तयारी

२० वैशाख, जनकपुरधाम । यही वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिने नागरिक अभिनन्दनस्थल बाह्रबिघा रङ्गभूमिमा तीव्रताका साथ कार्य भइरहेको छ । संघ, प्रदेश र स्थानीय सरकारबाट जानकी मन्दिरदेखि बाह्रभूमिसम्म सौन्दर्यकरणको कार्य युद्धस्तरमा भइरहेको छ । दुई दिनअधि अबिरल वर्षाले बाह्रबिधा जलमग्न भएपछि पानी निकास गरी मञ्च व्यवस्थापन र पण्डाल निर्माणको कार्य अघि बढाइएको छ ।

त्यस्तै जानकी मन्दिरदेखि बाह्रबिघासम्मका पर्खालमा मिथिला सभ्यता र संस्कृति झल्किने मिथिला कला बनाउने कार्य पनि तीव्र रूपमा भइरहेको छ ।

यसैबीच भारतीय राजदूत मञ्जित पुरी लगायत भारतीय सुरक्षा अधिकारी र परराष्ट्र मन्त्रालयको उच्च पदाधिकारीको टोलीले बाह्रबिघाको स्थलगत अवलोकन गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतका अनुसार टोलीले बाह्रबिघामा हेलिकप्टर अवतरणमा समस्या आउनसक्ने भएकाले हेलिकप्टर जनकपुर विमानस्थलमा अवतरणको सुझाव दिएको छ ।

टोलीले आज बाह्रबिघाको विभिन्न स्थलमा परीक्षण गर्दा धुलोमय भएका कारण जनकपुर विमानस्थलमा हेलिकप्टर अवतरणको सुझाव दिएको उहाँले बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पटनाबाट हेलिकप्टरमा जनकपुरधाम आउने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७५, बिहीबार १४:०४