अधिकृतको कमाइ साढे १० करोड !
३० मंसिर, काठमाडौं । लेखापालबाट सरकारी सेवामा उपसचिव पदमा पुगेका सरकारी कर्मचारीले कति कमाउलान् ? एक करोड, डेढ करोड वा दुई करोड ? तपाईंलाई पत्यार नलाग्ला, भन्सारमा काम गर्ने एक अधिकृतले आफ्नो ३१ वर्षे सेवा अवधिमा साढे १० करोड रुपैयाँ कमाएका छन् ।

तातोपानी भन्सार कार्यालय (सिन्धुपाल्चोक) का प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतले १० करोड ५६ लाख ९१ हजार रुपैयाँ कमाएका हुन् । बस्नेतले तलबभत्ता, टिडिए, विदेश भ्रमण, पुरस्कार, ओभर टाइम काम गरेरमात्र उक्त रकम कमाएका भने होइनन् । उनको वैध आम्दानी पौने २ करोड रुपैयाँ भए पनि पदीय आचरणविपरीत गैरकानुनी रूपमा भ्रष्टाचार गरी उक्त रकम कमाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ ।
बस्नेतले भन्सार अधिकृतको रूपमा काम गर्दा विदेशबाट नेपाल आयात गर्ने सामानहरूका भन्सार छुटाउँदा विभिन्न व्यापारी, क्यारिङ व्यवसायी एवं भन्सार एजेन्टसँग गैरकानुनी रूपमा घुस लिएर अकुत सम्पत्ति कमाएको छानबिनबाट खुलेको अख्तियारले जनाएको खबर नागरिक दैनिकमा छ ।
भोजपुर षडानन्द नगरपालिका ११ स्थायी घर भएका बस्नेत अहिले काठमाडौं महानगरपालिका ४, धुम्बाराही बस्छन् । २०४५ मा लेखापाल पदबाट सेवा प्रवेश गरेका बस्नेतको २०७६ असार मसान्तसम्मका वैध आम्दानी १ करोड ७८ लाख २० हजार ९७५ रुपैयाँ मात्र देखिएको छ । उनले अन्य रकम भ्रष्टाचार गरेर कमाएको अख्तियारको छानबिनबाट देखिएको छ ।
प्रकाशित मिति : December 16, 2019 at 7:28 am








