२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

डोटी जिल्ला अस्पतालमा चिकित्सक नहुँदा समस्या

२६ मंसिर, डोटी । जिल्ला अस्पतालमा डाक्टर नहुँदा समस्या भएको छ । भएका डाक्टर समायोजनमा परेपछि जिल्ला अस्पतालमा दरबन्दी अनुसारका डाक्टर छैनन् । डाक्टर नहुँदा बिरामीको जाँचदेखि शवको परीक्षण नहुँदा स्थानीयलाई निकै समस्या भएको छ । कूल चार सरकारी डाक्टरको दरबन्दी रहेको अस्पतालमा अहिले शव परीक्षण गर्ने डाक्टर छैनन् । शवको परीक्षण गर्ने जिम्मेवारी पाएका डा भूषण मिश्रको समायोजनामा काठमाडाैँ सरुवा भएपछि अहिले यहाँको अस्पतालमा शव परीक्षण गर्ने अधिकार पाएका डाक्टर छैनन् । डाक्टर नहुँदा शव परीक्षणका लागि जिल्ला बाहिरका अस्पताल लैजानुपर्ने बाध्यता भएको छ ।

यसै सिलसिलामा जिल्लाको जोरायल गाउँपालिका–१ मा खार खोप केन्द्रमा मङ्गलबार खोप लगाएका स्थानीय टेकबहादुर मल्लका चार महिनाका नाती प्रविण मल्लको मृत्यु भएपछि बालकको शव परीक्षण गर्न शव जिल्ला अस्पतालमा ल्याइयो तर यहाँ शव परीक्षण गर्ने डाक्टर नहुँदा परिवारले शव डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा लगे पनि त्यहाँ शव परीक्षण गर्ने डाक्टर नहुँदा अन्ततः धनगढी लगेर परीक्षण गर्नुपर्यो । “एकातिर छोरो मरेको पिडा अर्को तिर डाक्टर नहुँदा जिल्लामा शव परीक्षण हुँन नसक्दा निकै दुःख भयो,” मृतकका ठूलाबुबा हेमप्रकाश मल्लले भन्नुभयो, “जिउँदो छन्जेल त उपचार गर्न सकेनन, मरेपछि पनि कस्तो पिडा दिएको होला ?

” उहाँको मात्र होइन जिल्लामा शव परीक्षण गर्ने डाक्टर नहुँदा यहाँका स्थानीयले यस्तो समस्या झेल्दै आएका दिपायल पिपल्लाका ध्वजबहादुर देउवाले बताउनुभयो । जिल्ला अस्पताल व्यवस्थापन समितिले शव परीक्षण गर्ने डाक्टर ल्याउने तयारी भइरहेको जनाएको छ । व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जिल्ला अस्पतालमा शव परीक्षण गर्ने डाक्टरदेखि अन्य चिकित्सकका लागि केन्द्र र प्रदेश सरकारसँग माग गरिएको बताउनुभयो ।

प्रकाशित मिति : December 12, 2019 at 2:48 pm