प्रि–फ्याबबाटै अस्पतालको सेवा
२१ मंसिर, चौतारा । भूकम्प गएको साढे ४ वर्ष बित्दा पनि सिन्धुपाल्चोकको सदरमुकामस्थित चौतारा अस्पताल प्रि–फ्याब भवनबाटै सञ्चालन हुँदै आएको छ । २०७२ वैशाख १२ को भूकम्पबाट नवनिर्मित भवनमा क्षति पुगेपछि विदेशी संस्थाद्वारा निर्मित ३ प्रि–फ्याब भवनबाट अस्पतालको सेवा प्रवाह हुँदै आएको हो ।
हालको १५ शय्यालाई स्तरोन्नति गरी ५० शय्याको अस्पतालको नयाँ भवन चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिने हुँदा आगामी २०७७ को पहिलो महिनाबाट काम शुरु हुन सक्ने वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले बताए । विविध कारणले क्षतिग्रस्त भग्नावशेष पन्छाउन एक वर्ष ढिला भएकाले हालै मात्र ‘साइट’ सफा गर्ने काम सम्पन्न भएको छ । साइट सफा भएपछि प्राविधिकद्वारा माटो परीक्षण हुने र त्यसपछि मात्र अनुमानित योजना बनाइने हुँदा त्यसको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट चिनियाँ पक्षसँग समन्वय भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
अहिलेको अवस्थामा काम गर्न असहज नभए पनि सुविधा सम्पन्न भवन निर्माण भएपछि बिरामीलाई अझ बढी सहज हुने अस्पतालका डा सविना देवकोटाले बताइन् चिनियाँ सरकारले तातोपानी नाका, जिल्ला अस्पताल र दोलखाको जिरी उच्च मावि भवनको पुनःनिर्माण गर्न २०७४ चैत १ गते अर्थ मन्त्रालयका तत्कालीन सचिव शंकरप्रसाद अधिकारी र नेपालका लागि तत्कालीन चिनियाँ राजदूत यु–होङबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार चीन सरकारले तीन विलियन युआनअर्थात् करिब रु ५० अर्ब सहयोग उपलब्ध हुनेछ ।
स्थापनाकालमा हेल्थ सेक्टरका रुपमा रहेको उक्त स्वास्थ्य संस्था २०३० को दशकमा नँया भवन निर्माण भएसँगै १५ शय्याको अस्पतालमा परिणत भएको थियो । सशस्त्र द्वन्द्वकालमा माओवादीको आक्रमणबाट अस्पताल ध्वस्त भएको थियो । त्यसको केही वर्षपछि सुविधा सम्पन्न भवन निर्माण भए पनि सञ्चालनमा आएको केही वर्ष नबित्दै विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको थियो । भवन क्षतिग्रस्त भएपछि खुलाचौरमा पालबाट सञ्चालन हुँदै आएकामा वर्ल्ड भिजन नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा निर्मित प्रि–फ्याब भवनबाट सञ्चालन हुँदै आएको पनि लामो समय भएको कर्मचारीहरु बताउँछन् । –रासस
प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार ०९:५९