५ फाल्गुन २०८२, मंगलवार | Tue Feb 17 2026

गाउँघरमा चिकित्सक कार्यक्रम’ प्रभावकारी

१५ मंसिर, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीमा आयोजित दुईदिने ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ बाट ४१८ स्थानीय बासिन्दाले सेवा पाएका छन् । स्वास्थ्य कार्यालय कञ्चनपुरले बेलडाँडीमा दुईदिने गाउँघरमा चिकित्सा सेवा कार्यक्रम सञ्चालन गरी स्थानीय बासिन्दालाई चिकित्सकद्वारा बिरामी जाँच, परामर्श, गर्भवती महिलाका लागि भिडियो एक्सरे, प्रजनन स्वास्थ्य, प्रयोगशाला तथा निःशुल्क औषधि वितरणलगायतको सेवा प्रदान गरेको छ । कार्यक्रमबाट महिला २९५, पुरुष १२३ लाई सेवा प्रदान गरिएको डा कपिल जोशीले बताउनुभयो ।

यसमध्ये ४१ को रगत परीक्षण गर्दा १५ मा उच्च रक्तचाप, छ जनामा मधुमेह देखिएको उहाँले बताउनुभयो । भिडियो एक्सरेद्वारा गर्भवती जाँचसमेत गरिनुको साथै उपचारका लागि पुगेका सबैलाई निःशुल्करूपमा औषधि वितरण गरिएको छ । उपचारका लागि पुगेकामध्ये अधिकांशमा श्वासप्रश्वासको समस्या देखिएको छ डा जोशीले भन्नुभयो, “त्यसपछि छालारोग, बालबालिकालाई मौसमी ज्वरो र वृद्धवृद्धामा मधुमेह र उच्च रक्तचापको समस्या देखापरेको छ ।

” मातृशिशु मृत्यृदर घटाउन र गर्भवतीको अवस्था थाहा पाउनका लागि जिल्लामै पहिलोपटक गाउँमै भिडियो एक्सरे सेवासमेत सञ्चालन गरिएको कार्यक्रमका प्रमुख डा जोशीले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका र विपन्नताका कारण टाढाको स्वास्थ्य संस्थामा उपचार गर्न नपाएका बासिन्दाले घरदैलोमै सेवा पाएका छन्, स्थानीयवासी जनकलाल डगौराले भन्नुभयो, “चिकित्सकीय सेवा गाउँमै पाउँदा सरकार आएको अनुभूति भएको छ ।

” अपाङ्गता भएका व्यक्ति, दीर्धरोगी र ज्येष्ठ नागरिक कार्यक्रमबाट बढी लाभान्वित भएको उहाँले बताउनुभयो । सरकारले यस्ता जनतालाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम क्षणिकरूपमा नभई सधैँका लागि पु¥याउनुपर्ने उहाँले बताउनुभयो । वडाध्यक्ष बहादुर महराले सञ्चालन भएको दुईदिने कार्यक्रमबाट वडा क्षेत्रका लक्षित वर्गले सेवा पाएको बताउनुभयो । उपचार कार्यक्रममा तीन चिकित्सकले सेवा प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आईतवार १४:३८