कुहिएको चामल प्रशोधित गरी बिक्री गर्ने खाद्यको तयारी
९ मंसिर, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुहिएको बासमती चामललाई पुनः प्रशोधन गरेर बिक्री गर्ने तयारी गरेको खुलासा भएको छ । सरकारी कम्पनीले नै उपभोक्तामाथि खेलबाड गर्न थाल्दा समेत सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अञ्चल कार्यालय थापाथलीका कर्मचारीको लापरबाहीका कारण गोदाममा रहेको लाखौं मूल्यका चालम कुहिएको राजधानी दैनिकमा खबर छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गोदाममा रहेको ४ सय ८७ क्विन्टल २२ केजी चामल अयोग्य ठहर गरेको छ । तर, खाद्य कम्पनीले भने विभागको निर्देशनलाई समेत अटेर गरी पुनः प्रशोधन गरी बिक्री गर्ने तयारी गरेको हो ।
थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी, अञ्चल कार्यालयका प्रबन्धक रणबहादुर बुढाथोकीले घुमाउरो पाराले चामल अखाद्य रहेको स्वीकार गरेका छन् । ‘लामो समयदेखि गोदाममै चामल थन्किएकाले गुणस्तर मात्र कम भएको हो । पूर्ण रूप कुहिएको छैन,’ उनले भने, ‘आव ०७१/७२ मा जनकपुरबाट आफ्नै मिलमा कुटाएर ल्याएको हो । त्यो समयमा जनकपुरबाट बासमती चामल ठूलो परिमाणमा ल्याएका थियौं । सबै चामल बिक्री गर्न नसक्दा गोदाममा थन्किएको थियो ।’
गोदाममै थनकिएको चामल समयमा व्यवस्थापन गर्न नसक्दा केही बिग्रिएको बुढाथोकीले बताए । कुहिएको चामल किन बेच्ने तयारी गरेको भनेर राजधानीले गरेको प्रश्नमा उनले प्रशोधनपछि खाद्य गुणस्तर प्रविधिको रिपोर्टअुनसार बिक्री गर्न सक्ने दाबी गरेका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले भने प्रशोधन गरेको चामल खानयोग्य नहुने बताए । प्रवक्ता महर्जनले भने, ‘प्रशोधन गरिएको चामल मानिसका लागि खान योग्य हुँदैन । त्यसका लागि हामीले कुनै सहमति दिने कुरै हुँदैन ।’
प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार ०८:१७