३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

बुद्धका मार्गदर्शन सबैका लागि प्रेरणादायीः राष्ट्रपति

१७ वैशाख, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आमाका सपूत एवं अमरज्योति शान्तिका अग्रदूत बुद्धको दुई हजार ५६२ औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बीलगायत शाक्यमुनि बुद्धले दिएको शान्ति, अहिंसा, मेलमिलाप र करुणा भावनाप्रति विश्वास राख्ने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावमा शुभकाना व्यक्त गर्नुभएको छ ।

आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई सदृढ एवं सबल बनाउने अभियानमा शान्तिदूत बुद्धका उपदेश तथा मार्गदर्शन हामी सबैका लागि प्रेरणादायी रहेको उल्लेख गर्नुभएको छ ।

बौद्ध दर्शनलाई आत्मसात् गर्दै अगाडि बढ्न सकेमा हामीभित्र आन्तरिक शान्ति तथा भ्रातृत्व भाव आउनाका साथै आर्थिक समृद्धि, सामाजिक विकास एवं दिगो शान्ति र सुशासनतर्फ उन्मुख सबैबीच एकता, सहिष्णुता र सद्भाव कायम हुन सजिलो हुने उहाँले उल्लेख गर्नुभएको छ ।

सन्देशमा आजको पवित्र दिनमा एकापसमा सद्भाव, मेलमिलाप एवं अहिंसावादी सिद्धान्तको पालना गर्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने कामनासमेत गरिएको छ ।

राष्ट्रपति भण्डारीले उभौली पर्वका अवसरमा पनि सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली किराँत धर्मावलम्वी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देश दिँदै उहाँले नेपालको मौलिक र विशिष्ट संस्कृतिसहितको समुदाय किराँतको उभौली पर्वले नेपालीबीच आपसी सद्भाव, भ्रातृत्व र सहिष्णुता कायम गर्दै सामाजिक एकता, शान्ति र मेलामिलापको वातावरण सिर्जना गर्ने उल्लेख गर्नुभएको छ
उपराष्ट्रपतिको शुभकामना
उपराष्ट्रपति नन्दबहादुर पुनले बुद्धजयन्ती तथा किराँत समुदायको प्रमुख चाड उभौली पर्वका अवसरमा देशविदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइ र विश्वभरका बुद्ध धर्मावलम्वी तथा किरात समुदायमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभएको छ ।

आज विज्ञप्ति जारी गर्दै उहाँले अहिंसा र सदाचारका आदिपुरुष बुद्धले देखाउनुभएको सद्मार्गसबैका लागि अनुकरणीय र मननीय रहिआएको बताउँदै विश्वभरका मानिसहरू भौतिक र आत्मिक सुखशान्तिको खोजीमा रहेको वर्तमान सन्दर्भमा गौतमबुद्धबाट व्यक्त शान्ति र अहिंसाका सत्य वचनको महत्व झनै बढेर गएको उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७५, सोमबार ०६:१०