११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

मदिराले बिगार्छ युवा जीवनशैली

३ मंसिर, काठमाडौं । फेसन, जीनवशैली र रमाइलोका लागि मदिरा प्रयोग गर्नु सामान्यजस्तो भइसकेको छ । तर निश्चित उमेर नपुगी मदिरा सेवन गर्न हुन्न भन्ने अन्तर्राष्ट्रिय मान्यता छ ।

यो मान्यता त्यसै बनेको होइन । मदिराले युवाको जीवनशैली र सिर्जनामा पूरै प्रतिकूल असर पार्ने भएकाले पनि यस्तो मान्यता विकास भएको हो । नेपालमा १८ वर्ष नपुगेका कतिपय युवामा मदिरा सेवन सोख वा जीवनशैली बनेको छ । ‘प्लस टु’का विद्यार्थी तथा युवा पुस्तामा मदिरा सेवन एउटा फेसनका रूपमा बढ्दै छ । कलेजमा हुने बिदाइ पार्टी, साथीहरूसँगको ‘भेटघाट’, वनभोज, चाडपर्व र खुसियाली मनाउनेजस्ता कार्यमा मदिरा पिउनु फेसन नै बनेको गोरखापत्र दैनिकमा खबर छ ।

नेपालमा मदिराजन्य वस्तुको खुला बिक्री हुने गरेको र केही वर्षयता यसलाई नियन्त्रित गर्ने प्रयास गरिए पनि सेवन गर्ने युवापुस्ता भने थपिँदै गएको जानकारहरू बताउँछन् । उत्पादन कम्पनीहरूले पनि थरीथरीका मदिरा उत्पादन तथा विज्ञापन गर्ने परम्पराले प्रयोग गर्ने गरेकाले बजार विस्तारलाई स्पष्ट पार्छ । कतिपय मदिरा उत्पादन कम्पनीले युवा र महिलालाई लक्ष्य गरेर अहिले नयाँनयाँ कक्टेल, ब्रान्डी जिन र रम, वाइनहरूको उत्पादन गरी बजारमा ल्याएका छन् ।

प्रतिकात्मक तस्बिर ।

फिजिसियन डा. रवीन्द्र पाण्डेले मदिराको अत्यधिक प्रयोगले कलेजो, आन्द्रा, मिर्गौला, स्नायु प्रणालीमा असर पर्ने बताए । उनले गुणस्तरीय र मात्रात्मक रूपमा मदिराको प्रयोग स्वास्थ्यका लागि लाभदायक भए पनि आफ्नो स्वास्थ्यलाई राम्रो राख्न सन्तुलित भोजन गर्नुपर्ने बताए ।

मोटो शरीर भएका व्यक्तिले धेरै मदिरा सेवन गरेमा कोलेस्टोरलको मात्रा बढेर हृदयाघात हुने बताउँदै डा. पाण्डेले आँखाको शक्ति पनि कमजोर हुने बताए । मदिरा प्रयोग गरिरहेको मान्छेले झट्टै छोड्दा हात काम्ने, आँखाले नदेख्नेजस्ता समस्या आउने हुनाले यसलाई कम गर्दै थोरै मात्रामा सेवन गरी बिस्तारै छोड्नुपर्ने उनको सुझाव छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलवार ०८:१७