१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

शुल्क वृद्धि नगर्न निजी विद्यालयलाई शिक्षामन्त्री पोखरेलको निर्देशन

१४ वैशाख, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क नलिन निजी विद्यालयलाई निर्देशन दिनुभएको छ ।

भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विद्यालयले मनोमानी रुपमा शुल्क असुलेको गुनासो बढेको बताउँदै बढी शुल्क नअसुल्न विद्यालयलाई निर्देशन दिनुभएको हो । विद्यालय शुल्क तत्काल अनुगमन गरेर शुल्क नियन्त्रण गर्न स्थानीय तहलाई उहाँले आग्रह गर्नुभयो ।

मन्त्रालयले स्थानीय तहलाई तत्काल शुल्क वृद्धि नियन्त्रण गर्न आग्रह गरिसकेको बताउँदै मन्त्री पोखरेलले भन्नुभयो, “मनोमानी ढंगले विद्यालयले शुल्क वृद्धि गरेको गुनासो आएको छ, यसलाई तत्काल नियन्त्रण गर्नु जरुरी छ, स्थानीय तहलाई तत्काल शुल्क अनुगमन गरेर शुल्क वृद्धि नियन्त्रण गर्न म आग्रह गर्दछु ।” उहाँले शुल्क वृद्धि नियन्त्रण नगर्ने विद्यालयलाई कारबाही गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो ।

सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विद्यार्थीलाई लामबद्ध नराख्न विद्यालयलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “स्कुलमा होस् वा गाउँमा विशिष्ट व्यक्ति आउँदा स्वागत गर्न विद्यार्थीलाई लामबद्ध राख्ने परम्परा बढ्दै गयो, यो गलत छ, म सबै विद्यालयलाई निर्देशन दिन्छु, अबदेखि विद्यालयलाई स्वागतमा लामबद्ध नराख्नुहोस् ।” रासस

प्रकाशित मिति : April 27, 2018 at 3:25 pm