५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नुवाकोटमा पहिलोपटक राष्ट्रिय स्तरको फुटबल हुँदै, प्रतियोगितामा ‘ए’ डिभिजनका क्लब सहभागी हुने

१३ वैशाख, नुवाकोट । नुवाकोट जिल्लामा पहिलोपटक राष्ट्रिय सतरको फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद बिकास समिति नुवाकोट र नुवाकोट जिल्ला फुटबल संघको आयोजना तथा बिदुर नगरपालिकाको संरक्षकत्वमा संचालन हुने नुवाकोट गोल्डकप फुटबलको तयारी प्रारम्भ गरिएको आयोजक संस्थाहरुले जनाएका छन् ।

यसै सन्दर्भमा बिहिवार प्रतियोगिता आयोजना हुने नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा आयोजित पत्रकार सम्मेलनमा बिदुर नगरपालिकाका प्रमुख सञ्जु पंडितले नुवाकोट गोल्डकप जिल्लाको खेलकुद बिकासमा कोसेढुङ्गा सावित हुने बताउँदै यसको सफलताका लागि नगरपालिकाले कुनै कसर वाँकी नराख्ने प्रतिवद्धता जनाए ।

त्यसक्रममा जिल्ला खेलकुद बिकास समिति नुवाकोटका अध्यक्ष बुद्धि प्रधानले जिल्लामा खेल पूर्वाधारको विकास गरी खेल पर्यटनको माध्यमबाट यहाँको आर्थिक बिकासलाई जोड्न सकिने वताउँदै नुवाकोट गोल्डकपको सफलताले जिल्लाको चिनारीको क्षेत्र समेत व्यापक हुने धारणा व्यक्त गरे ।

कार्यक्रममा अखिल नेपाल फुटवल संघ नुवाकोटका उपाध्यक्ष  उद्धव पनेरूले प्रतियोगितामा मनाङ मस्र्याङ्दी, थ्रिस्टार, पोखरा–११ लगायतका ‘ए’ डिभिजन कल्वहरु, विभागीय टिमहरु र नुवाकोटको टिम सहित १० टिमको सहभागिता रहने जानकारी गराउँदै प्रतियोगिताले नुवाकोटमा राष्ट्रिय प्रतियोगिता संचालन गर्ने वातावरण छ भन्ने समेत प्रमाणित हुन लागेको बताए ।

प्रतियोगिताको तयारीका लागि अहिले खेल मैदान सम्याउने काम भईरहेको छ भने चाँडैनै त्यसमा दुबो सारेर व्यवस्थित मैदान निर्माण गरिने र खेल अवलोकनका लागि अस्थायी प्याराफिट समेत निर्माण हुने भएको छ । खेल मैदान सम्याउने र व्यवस्थित गर्ने काममा नेपाली सेनाका जवानहरु खटिएका छन् भने अखिल नेपाल फुटबल संघको टोलीले मैदानको प्राविधिक पक्षका वारेमा निरिक्षण र अनुगमन गरिरहेको उपाध्यक्ष पनेरूले बताए । आगामी जेठ १७ गतेदेखि २६ गतेसम्म संचालन हुने प्रतियोगिता संचालनका लागि ५४ लाख २७ हजार रुपैया खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्नेले पाँचलाख र दोस्रो स्थान प्राप्त गर्नेले तीनलाख रुपैया पुरस्कार प्राप्त गर्ने पनेरूले बताए ।

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहीबार २१:५०