काठमाडौँ नेचुरोपेथी अस्पताल सञ्चालनमा, शल्यक्रिया र औषधिबिना नै उपचार गरिने
४ कात्तिक, काठमाडौँ । योग तथा प्राकृतिक चिकित्सा सेवा दिने उद्देश्यले यहाँ ‘काठमाडौँ नेचुरोपेथी अस्पताल’ सञ्चालनमा आएको छ । सो अस्पतालमा आधुनिक प्रविधिको माध्यमबाट बिना शल्यक्रिया र बिना औषधि उपचार गरिने अस्पतालका स्वास्थ्य निर्देशक डा यञ्जन गैरेले जानकारी दिनसभयो ।

अस्पतालमा औषधिविहीन चिकित्सा पद्धति प्राकृतिक चिकित्सा, योगथेरापी, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, अकुपञ्चर तथा अकुप्रेसर, भोजन परामर्शका साथै जीवनशैली क्लिनिकको माध्यमबाट उपचार गरिने छ । अन्तरङ्ग सेवा, बहिरङ्ग सेवा, ल्याब, अतिविशिष्ट आवास कक्ष रहेको उक्त अस्पतालमा बिरामीमैत्री, शान्त तथा पारिवारिक वातावरणमा दक्ष, अनुभवी तथा विशेषज्ञ प्राकृतिक चिकित्सक, फिजियोथेरापिष्ट, योग थेरापिष्ट, नेचुरल थेरापिष्टलगायतबाट बिरामीको उपचार गरिने अस्पतालका अध्यक्ष गणेश पाण्डेले बताउनुभयो । बिरामीलाई मात्रै नभई निरोगीलाई समेत दीर्घजीवी रहनका लागि सो अस्पतालले ‘व्यवस्थित जीवनशैली क्लिनिक’ शुरु गरेको छ ।
प्रकाशित मिति : October 21, 2019 at 4:51 pm









