१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

चालीस वर्षपछि आजबाट वाग्मती यात्रा

–पूर्णप्रसाद मिश्र
१० बैशाख, काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरबाट ४० वर्षपछि सोमबारदेखि वाग्मती तीर्थयात्रा शुरु गरिँदैछ । नेमुनिको पालादेखि शुरु भएको विश्वास गरिने वाग्मती तीर्थयात्रा विसं २०३४ पछि हुन सकेको थिएन । सोमबार बिहान पशुपतिनाथ मन्दिरमा पञ्चामृतसहित पूजा एवं रुद्रीपाठ गरेपछि यात्रा शुरु हुनेछ ।

वाग्मतीको कटुवाल दहबाट वाग्द्वारसम्म हुने १७ दिने वाग्मती तीर्थयात्रा यस वर्ष सात दिनमात्र गरिनेछ । कटुवाल दहबाट वाग्द्वारसम्मका १६५ तीर्थस्थलमा पैदल हिँडेर स्नान, पूजाआजा गर्ने विधिलाई वाग्मती तीर्थयात्रा भनिन्छ । तीर्थयात्रा वैदिक र तान्त्रिक मिश्रित विधिमा गरिन्छ ।

वाग्मती प्रदूषित बन्दै गएपछि वाग्मती तीर्थयात्रा रोकिएको थियो । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, गायत्री परिवारलगायत सामाजिक संस्थाको सक्रियतामा विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भएको थियो ।

महाअभियानले सफाइमा जागरण ल्याए पनि विसं २०३४ अघिको अवस्थामा वाग्मती पुग्न भने समय लाग्ने देखिन्छ । वाग्मती सफाइ महाअभियानलाई निरन्तरता दिँदै जाने क्रममा यस वर्षदेखि पशुपति क्षेत्र विकास कोषले यात्रालाई पुनः सञ्चालन गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा सदस्य सचिव डा प्रदीप ढकालले बताउनुभयो ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले चैत १६ गते जारी गर्नुभएको मन्त्रालयले १०० दिनभित्र गर्ने काममा वाग्मती तीर्थयात्रालाई पुनः सञ्चालन गर्ने विषयसमेत उल्लेख थियो ।

विसं २०३४ सम्म वैशाख कृष्ण चतुर्दशीदेखि वैशाख शुक्ल पूर्णिमासम्म १७ दिन वाग्मती यात्रा गरिन्थ्यो । १७ दिने यात्राका क्रममा कटुवाल दहबाट वाग्द्वारसम्म १६५ तीर्थमा स्नान एवं पूजाआजा गर्ने विधि रहेको यात्राका मूल गुरु मदन भट्टले राससलाई जानकारी दिनुभयो ।

“यस वर्ष सातदिने यात्रा गर्दा वैशाख शुक्ल अष्टमीदेखि वैशाख शुक्ल पूर्णिमासम्म सात दिनको कार्यक्रम तयार पारिएको छ, वाग्मतीमै छिरेर स्नान गर्नसक्ने अवस्था छैन, नदीमा छिरेर स्नान गर्नसक्ने अवस्था नभएकाले ट्यांकरबाट पानी लगेर तीर्थमा स्नान गरिन्छ”, उहाँले भन्नुभयो ।

वैशाख १० गते सोमबार कटुवालदहबाट शुरु हुने यात्रा सुन्दरीघाट–टेकु कालमोचनघाट– शंखमुल–पशुपति राजराजेश्वरी–गोकर्ण–सुन्दरीजल–वाग्द्वार–बूढानीलकण्ठ–साँखु बज्रयोगिनी–चाँगुनारायण–मनोहरा–गुह्येश्वरी–पशुपति विरुपाक्ष–रुद्रगाडेश्वरसम्मको यात्रा गरी वैशाख १७ गते समापन हुनेछ ।

यात्राका क्रममा प्रत्येक घाटमा स्नान गरिन्छ । साँखु बज्रयोगिनीमा हवन हुन्छ । चाँगुनारायणमा दर्शन गरी मनोहरा नदीमा स्नान गरिन्छ । गुह्येश्वरी दर्शन गरेर विरुपाक्षलाई दहीच्यूरा खुवाइन्छ । रुद्रगाडेश्वरमा पूर्णाहुति गरेपछि वाग्मती यात्राले पूर्णता पाउने यात्राका मूल गुरु भट्टले बताउनुभयो ।

भावी पुस्तालाई जीवित संस्कृति हस्तान्तरण गर्न ४० वर्षपछि यात्रालाई पुनः जीवन दिन लागिएको सदस्य सचिव डा ढकालले बताउनुभयो । यात्राले वाग्मती सफाइ गर्न कटुवालदहबाट सुन्दरीजलसम्मका स्थानीयवासीलाई जागरण फैल्याउने उद्देश्यसमेत राखेको छ ।

यस वर्ष सातदिने यात्रा शुरु गरी अर्को वर्षदेखि पुरानै स्वरुपमा १७ दिने कार्यक्रमलाई नै पुनर्जागरण गर्ने कोषको तयारी छ । वाग्मती सफाइ महाअभियानलाई सहयोग गर्ने उद्देश्यले पनि यात्रालाई पुनःसञ्चालन गर्न लागिएको हो । यात्राले नदीमा फोहर नगर्न जागरण फैल्याउने आशासमेत गरिएको सदस्य–सचिव ढकालले सुनाउनुभयो ।

कार्यकारी निर्देशक रमेशकुमार उप्रेती कोष स्थापना हुनुभन्दा आठ वर्षअघिदेखि नै यात्रा रोकिएकामा शुरु गरेर यात्राको सांस्कृतिक महत्व जनसमक्ष ल्याउन लागिएको बताउनुभयो ।

यात्रा सञ्चालनका लागि रु ३२ लाख खर्च लाग्ने अनुमान गरिएको कोषले जनाएको छ । विसं २०३४ सम्म जुन स्थानमा पुग्यो त्यहीँका स्थानीयवासीले खाने बस्ने व्यवस्था गर्थे । आधुनिकताले छोएसँगै वैदिक सनातन धर्मावलम्बीको मान्यताअनुरुप अतिथिलाई स्वागत गर्ने परम्परामा कमी आउन लागेकाले कोषले नै खर्च व्यहोर्ने तयारी गरेको जनाइएको छ ।

धर्मशास्त्रका विभिन्न ग्रन्थमा वाग्मतीमा स्नान गर्नुलाई गंगा स्नानभन्दा पनि पुण्य फलदायक मानिएको छ । वैशाखको गर्मीमा पुण्यप्राप्तिका लागि नदीका १६५ स्थानमा स्नान गर्ने परम्परा बसालिएको हो ।

वाग्मती तीर्थयात्रा सञ्चालनका लागि प्रशस्त जग्गासहित गुठीको व्यवस्था गरिएको थियो । ती गुठी जग्गाको लोप भएकाले यात्राकै क्रममा खोजी अघि बढाउने कोषले जनाएको छ ।

वाग्मतीको महत्वका बारेमा हिमवत् खण्डलगायतका शास्त्रमा भनिएको छ–

पशुपतिं च समं लिङ्गं गुह्यकाली च समं पीठम् ।
वाग्मत्यां च समां नद्यां नास्ति ब्रह्माण्डमण्डले ।।

अर्थात् पशुपति समानको लिङ्ग, गुह्यश्वरी समानको शक्तिपीठ र वाग्मती समानको नदी ब्रह्माण्डमा अर्को छैन भनी उल्लेख गरेकाले पनि यसको महत्व थाहा पाउन सकिन्छ । वाग्मतीको यो महत्वलाई पुनःस्थापित गर्न पनि यात्रा सहयोगी हुने कोषको विश्वास छ ।

यात्रा उपत्यकाका सात नगरपालिकामा पुग्नेछ । दक्षिणकाली, कीर्तिपुर, काठमाडौँ महानगरपालिका, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, बूढानीलकण्ठ, शंकरापुर र चाँगुनारायण क्षेत्रमा वाग्मती यात्रा पुग्नेछ ।

वाग्मती तीर्थयात्रीलाई सहयोग गर्न सातवटै नगरपालिकाका प्रमुखलाई अनुरोध गरिएको जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दरराज वैद्यले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : April 23, 2018 at 7:27 am