८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

बाख्रा पालनले फेरिएको जीवन

– सुरेन्द्र भण्डारी

११ भदाै, झापा । झापाको अर्जुनधारा नगरपालिका–९ खरबन्दीकी सरस्वती पौडेलको दैनिकी हिजोआज घरधन्दा र मेलापातमा मात्र सीमित छैन । छिमेकमा निमेक गरेर गुजारा चलाउँदै आउनुभएकी सरस्वतीको अहिले परिचय नै फेरिएको छ । दुई वर्षदेखि बाख्रापालन व्यवसाय शुरु गरेसँगै उहाँको परिचय पनि फेरिएको हो ।

“जत्ती दुःख गर्दा पनि खानै पुग्दैन थियो”, उहाँले भन्नुभयो, “बाख्रापालन व्यवसाय शुरु गरेसँगै परिवार धान्न मात्र सहज भएको छैन छरछिमेकमा आपत पर्दा सहयोग गर्न पनि खाँचो हुँदैन ।” विगत सम्झँदै सरस्वतीले भन्नुभयो, “घर खर्च चलाउन मुस्किल भएको बेला बनिबुतो नगरी धेरै थिएन, म गाउँमा मजदुरी गर्थे भने श्रीमान् केशव पौडेल अरुको पसलमा काम गर्नुहुन्थ्यो, महीना दिन खाइनखाई ड्युटी ग¥यो, महीना मर्दा साहुले आधा महीनाको मात्रै तलब दिन्थे ।”

सहकारीबाट ऋण लिएको पैसामध्ये रु चार हजार ५०० का दुई बाख्राका पाठी किनेर बाख्रा पाल्न शुरु गर्नुभएकी सरस्वतीको अहिले खोरभरि बाख्रा छन् । बाख्रासँगै उहाँले गाई पनि पाल्नुभएको छ । “ऋण खान पाइन्छ भन्ने आसमा विसं २०७० असोजमा सहारा नेपाल सहकारी संस्थाको नमूना महिला कृषक समूहमा आबद्ध भएँ”, सरस्वतीले भन्नुभयो, “त्यो समूहको उपसमूहमा आबद्ध भएको दिन मेरा लागि साँच्चै खुशीको दिन थियो, किनकि सहकारीबाट ऋण लिएर मैले पनि केही गर्नु थियो ।”

सहकारीबाट रु तीन लाख आँट गरेर ऋण लिएको उहाँ सम्झिनुहुन्छ । उहाँँले भन्नुभयो, “बाख्रा राख्ने खोर बनाउन र मिस्त्रीको ज्याला मात्रै रु एक लाख लाग्यो, बचेको पैसाले आफू बस्ने घर र बाख्रालाई खानेकुराको बन्दोबस्त मिलाउन छुट्याएँ, जुन आँटका कारण म अहिले यो ठाउँमा छु ।” सरस्वतीले बाख्राका लागि सहकारीबाटै उन्नतजातको घासको बीउ पनि प्राप्त गर्नुभएको छ ।

सरस्वतीका घरमा पालिएका सबै बाख्राको बिमा पनि गरिएको छ । किनकि बिमा गरिएका सबै बाख्राको रेखदेखका लागि सहकारीले नै कर्मचारी राखेर निःशुल्क हेरचार गर्दै आएको छ । आफ्ना शेयर सदस्यको जीवनस्तर माथि उठाउन सहकारीले बिनाधितो ऋण र पशुपालक कृषकका लागि प्राविधिकसमेत निःशुल्क उपलब्ध गराएपछि अर्जुनधारा–९ की सरस्वती मात्र होइन, नगरपालिकाभित्र झण्डै २०० बढी महिलाले व्यावसायिकरूपमा बाख्रापालन गर्दै आएका सहकारीका पशु प्राविधिक सिर्जना आचार्यले बताउनुभयो ।

“यो क्षेत्र पशुपालनका लागि उत्तम ठाउँ रहेछ, पहिचान गरेरै यस ठाउँमा बाख्रा र कुखुरापालनका लागि सहकारीले योजना अघि बढाएको हो” उहाँले भन्नुभयो, “अहिले यस क्षेत्रका अधिकांश महिला उद्यमी भएका छन्, हिजोसम्म अरुकहाँ मजदुरी गर्ने माहिला अहिले आफैँ उद्यमी बनेर घर चलाएका छन् ।” कोही विदेशबाट फर्किएर पशुपालन गरिरहेका छन् त कोही रोजगारीको अन्य विकल्प नभएर यो पेशामा आबद्ध छन् ।

पाँच वर्षभित्र बाख्रापालन व्यवसायबाटै रु एक करोड बढी आम्दानी लिने सोचका साथ सरस्वतीले अहिले स्थानीयसहित उन्नतजातका बाख्रापालन गरिरहनुभएको छ । सरस्वतीले अहिले समूहमा आबद्ध अरु महिलालाई पनि समूहमै बाख्रापालनसम्बन्धी तालीम प्रदान गर्दै आउनुभएको छ । वडा नं ९ मा अहिले उहाँकै अग्रसरतामा किसान पाठशालासमेत सञ्चालनमा छ ।रासस

प्रकाशित मिति : August 28, 2019 at 11:30 am