८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

रवि समर्थकले हिंसा भड्काउन खोजेपछि चितवन जिल्ला अदालत आसपासको क्षेत्रमा निषेधाज्ञा

९ भदाै, काठमाडाैँ । प्रदर्शनकारीले हिंसा भड्काउन खोजेपछि चितवन जिल्ला अदालत आसपासको क्षेत्रमा निषेधाज्ञा जारी भएको छ ।जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार बिहान ६ बजेदेखि अर्को अादेश जारी नहुदाँसम्मका लागि जिल्ला अदालत आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहको मुद्दा दर्ता भए लगत्तै समर्थकको नाममा जम्मा भएको अाराजक भीडिले हिंसा भड्काउन खोजेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

लामिछाने निर्दोष भएको भन्दै चितवनमा रवि समर्थक, राजावादी र कांग्रेस कार्यकर्ताको एउटा समूहले लगातार प्रदर्शन गर्दै आएको छ । आइतबार लामिछानेलाई अदालतबाट जिल्ला प्रहरी कार्यालयको हिरासतमा लैजाने क्रममा प्रदर्शनकारीले प्रहरीमाथि बोतल र ढुंगा हानेका थिए । सोक्रममा चार जना प्रहरी घाइते भएका थिए । सूचना अनुसार सोमबार विहान ६ बजेबाट अर्को सूचना जारी नभएसम्म हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले ५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन पाइने छैन ।

निषेधाज्ञाको चार किल्ला समेत तोकिएको छ । जसमा पूर्वतर्फ बाइपास सडकतर्फ आन्तरिक राजश्व कायर्मलयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म । पश्चिमतर्फ लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखि चौबिसकोठी चोकसम्म । उत्तरतर्फ बाइपास सडकको अन्तरिक राजश्व कार्यालय चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेजज जाने चोक, नारायणी मावि, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गको चौबिसकोठी चोकसम्म र दक्षिणतर्फ बाइवपास सडकतर्फ घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गतर्फ सप्तगण्डकी अस्पताल चोकसम्म रहेको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ क अनुसार यो आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन् । निषेधाज्ञा उलङ्घन गर्नेलाई प्रमुख जिल्ला अधिकारीले ५०० रूपैयाँ जरिवाना र महिनासम्म कैद सजाय तोक्न सक्ने व्यवस्था छ ।

प्रकाशित मिति : August 26, 2019 at 6:03 am