८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

दाङका ३५ वडा बाढीको उच्च जोखिममा

४ भदाै, दाङ । दाङमा पहिरोको जोखिम त्यति धेरै नभए पनि बाढीको जोखिम भने अत्यधिक रहेको छ । पूर्वदेखि पश्चिमसम्म सबै ठाउँ बाढीको जोखिममा छ । अघिल्ला वर्षमा खेतवारीसँगै घर बगाएपछि यहाँका स्थानीय निकायसँगै प्रशासनसमेत क्षेत्रसमेत सचेत बनेको देखिन्छ । दाङका १०० वडामध्ये ३५ वडा बढी जोखिमपूर्ण वडाका रुपमा घोषणा गरिएका छन् ।

फाइल फाेटाे

जिल्ला प्रशासन कार्यालयका अनुसार विशेषगरी बबई र राप्ती नदी आसपासका गाउँ बढी जोखिममा छन् । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार चालू आर्थिक वर्षमा जोखिम भनिएका ३५ वडामध्ये १५ वडामा जोखिमको पूर्वसूचना दिने साइरन प्रणाली जडान गरिँदैछ । प्रशासनको हाताभित्र जोखिमको अवस्था बुझ्न डिजिटल सूचना बोर्डको जडानसमेत गरिएको छ ।

जिल्लामा जुनसुकै प्रकारको जोखिम आए पनि खोज तथा उद्धारका लागि आफूहरु तयारी अवस्थामा रहेको प्रजिअ रिजालले बताउनुभयो । अहिले प्रशासनसँग जोखिममा परेमा तत्काल राहत, सुरक्षित आश्रय, लत्ताकपडा आदिको तयारी रहेको उहाँले बताउनुभयो । “अहिले हामीसँग तत्काल राहतका लागि रु तीन करोड बचत छ”, उहाँले भन्नुभयो, “स्थानीय निकायले पनि रु १० लाखदेखि रु एक करोडसम्म विपद् व्यवस्थापनमा छुट्याएका छन् ।”

घोराही उपमहानगरपालिकामा समेत विपद्को पूर्वसूचना प्रणाली, तयारी एवं विपद् जोखिम न्यूनीकरण तथा उद्धार तथा राहतका लागि रु एक करोड ३४ लाख छुट्याएको छ । उपमहानगरका विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले विपद्का लागि छुट्याइएको रकम विपद्मा परेकाकै लागि खर्च गरिने बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा उद्धारका लागि मानवीय जनशक्तिसमेत तयार पारिने जानकारी दिनुभयो ।

प्रकाशित मिति : August 21, 2019 at 12:00 pm