८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

डिग्री पास गरेका तनहुँका ईश्वरराज पन्थ व्यावसायिक भैँसीपालनमा व्यस्त

–सानेबहादुर नेपाली

४ भदाै, तनहुँ । धेरै पढेपछि जागिर खानुपर्छ भन्ने सोच बोकेका व्यक्तिलाई यहाँका एक युवाले गतिलो सन्देश दिएका छन् । सूचना प्रविधि शिक्षा (आइटी)मा स्नाकोत्तर हासिल गरिसक्नुभएका व्यासनगरपालिका–१३ स्थित गुँदीका ३८ वर्षीय ईश्वरराज पन्थले व्यावसायिक भैँसीपालन थाल्नुभएको छ ।

आठ वर्षसम्म दमौलीको एक संस्थागत विद्यालयमा प्रिन्सिपल बन्नुभएका पन्थ पछिल्लो समय लाइफ इन्स्योरेन्स कंम्पनीको शाखा प्रबन्धक भएरसमेत काम गर्दै आउनुभएको थियो । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमौली शाखाको प्रबन्धक पदको जागिर छाडेर पन्थ व्यावसायिक भैँसीपालनमा लाग्नुभएको हो । कृषक पन्थ हाल एनप्याव्सन तनहुँको सचिव पनि हुुनुहुन्छ ।

फाइल फाेटाे उहाँले भन्नुभयो, “सानै उमेरदेखि पशुपालनतर्फ रुचि भए पनि पढ्ने बेला भएकाले पढ्दै गएँ र केही समय जागिर पनि खाएँ । तर, पढ्दैमा जागिर खानुपर्छ भन्ने होइन ।” पढेर केही गर्नुपर्छ भन्ने मान्यताका साथ आफू यस पेशातर्फ लागेको उहाँको भनाइ छ । उहाँले गुँदी गाउँबाट दमौली शहर झरेको झण्डै १२ वर्षपछि पुनः गाउँ फर्किएकाले फार्मको नाम नै गाउँ फर्क कृषि उद्यम प्रालिमा दर्ता गरी व्यवसाय गर्नुभएको छ ।

उक्त फार्ममा स्थानीय बाबुराम ढकाल र पन्थ दुई जना मिलेर व्यवसाय सञ्चालन गर्नुभएको हो । विसं २०७५ मङ्सिरमा भारतबाट रु एक लाख ५० हजार मूल्यका १० दुहुना मुर्रा जातका भैँसी ल्याएर पाल्न थालेको उहाँले जानकारी दिनुभयो । अहिले दैनिक १०० लिटर दूध उत्पादन भएको र प्रतिलिटर रु १०० मा बिक्री गर्ने गरेको पन्थले बताउनुभयो । उत्पादित दूध दमौली बजार क्षेत्रमा सजिलै खपत हुँदै आएको र माग बढिरहेकाले छिट्टै भैँसीको सङ्ख्या थप्ने योजना उहाँकोे छ ।

उहाँले भन्नुभयो, “पानी नमिसाएको शुद्ध दूध पाएपछि केही उपभोक्ता फार्ममै दूध लिन आउने गरेका छन् ।” उक्त फार्म सदरमुकाम दमौलीबाट करीब आठ किलोमिटर उत्तरमा पर्छ । शुरुमा अष्टे«लियाबाट बोयर जातका बाख्रा ल्याएर बोयर बाख्रा स्रोत केन्द्र बनाउने उद्देश्य रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बाख्राको खोरको पूर्वाधार बनिनसकेका कारण भैँसीपालन व्यवसायलाई पनि सँगसँगै लैजान लागिएको हो ।”

करीब १५० क्षमताको बाख्रा खोर निर्माण र फार्मसम्म पुग्ने सडकदेखि फार्मभित्रका शाखा सडक निर्माणकार्य भइरहेको उहाँले जानकारी दिनुभयो । व्यावसायिक पशुपालनका लागि करीब ५०० रोपनी जग्गा रहेको छ । फार्म सञ्चालन शुरु गरेदेखि करीब रु ५० लाख लगानी भइसकेको कृषक पन्थ बताउनुहुन्छ । उत्पादनमूलक बाँझो जग्गा उजाड हँुदै गएको, युवाहरु विदेशिएको अवस्थामा बाँझो रहेको जग्गालाई सदुपयोग गर्दै केही गराँै भन्ने सोचका साथ आफू पशुपालन व्यवसायमा लागेको उहाँले बताउनुभयो ।

हाल उक्त फार्ममा सात कर्मचारी कार्यरत छन् । गाउँका करीब २५ जनालाई प्रत्यक्ष रोजगारी दिने उहाँको योजना छ । आवश्यकताअनुसार केही कर्मचारीलाई ज्यालादारी तरिकाले राख्न सकिने उहाँले बताउनुभयो । नेपाल सरकारले व्यावसायिक कृषकलाई सहुलियत दरमा ऋण प्रदान गर्ने भनिए पनि दमौलीस्थित वाणिज्य बैंकमा आवश्यक कागजपत्र पेश गरेको तीन महीना बितिसक्दा पनि खासै चासो नदेखाएको उहाँले गुनासो गर्नुभयो ।

वडामा उद्योग फार्म सञ्चालन हुँदा गाउँमा रहेका बेरोजगारीलाई रोजगारीको सिर्जना हुनुका साथै आर्थिक उन्नन्तिमा टेवा पुग्ने विश्वास लिइएको व्यास–१३ का वडाध्यक्ष लेखबहादुर रानाले बताउनुभयो ।रासस

‘फार्मस्टे’को व्यवस्था

फार्ममा आउने व्यक्ति तथा समूहका लागि घरबासजस्तै ‘फार्मस्टे’को व्यवस्था गरिने भएको छ । फार्ममा आएका मानिसका लागि बस्ने र खाने व्यवस्था मिलाइने गरी काम अघि बढाइएको छ । आन्तरिक एवं बाह्य पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले पारिवारिक वातावरणमा फार्मस्टेको व्यवस्था गर्न लागिएको अर्का सञ्चालक ढकालले बताउनुभयो ।

उक्त फार्मलाई कृषि, शिक्षा र कृषि पर्यटन क्षेत्र बनाउने लक्ष्य राखिएको छ । सिटीभिटीबाट मान्यता प्राप्त लिई कृषि शिक्षा र कृषिको प्रयोगशालास्थलका रुपमा विकास गर्ने योजनासहित फार्म सञ्चालन गरिएको सञ्चालक ढकालले बताउनुभयो ।

रैथाने गाई सङ्कलन तथा संरक्षण

उक्त फार्ममा स्थानीय जातका गाई सङ्कलन गरी संरक्षण गरिने भएको छ । गाईको गहुँत सङ्कलन गरी प्रशोधिनमार्फत औषधिका रुपमा विकास गर्ने, पक्षीको रुपमा स्थानीय जातका कुखुरापालन गर्ने, फलफूल खेतीमा कागती, तरकारी खेतीमा मौसमी तथा बेमौसमी अग्र्यानिक तरकारी उत्पादन गर्ने, मौरी र माछालगायतका व्यावसायिकपालन गर्ने लक्ष्य रहेको सञ्चालकद्वयले बताउनुभयो ।

प्रकाशित मिति : August 21, 2019 at 9:50 am