८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

रवि लामिछानेसहित तीनैजनालाई अदालतमा उपस्थित गराइयो, के थपिएला त म्याद ?

३ भदाै, चितवन । पत्रकार रवि लामिछानेसहित तीनैजनालाई चितवन जिल्ला अदालतमा आज उपस्थित गराइएको छ । हिरासतमा राखेर पाँच दिन सोधपुछ गरेपछि प्रहरीले उनीहरुलाई दोस्रो म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो । प्रहरीले गरिरहेको अनुसन्धानलाई मध्यनजर गर्दै अदालतले लामिछानेसहित तीनलाई पुनः म्याद थप्न सक्नेछ । यदी हिरासत बाहिरै राखेर अनुसन्धान गर्ने अवस्था अदालतले देखेमा उनीहरु छुट्न पनि सक्छन् ।

लामिछानेसहित युवराज कँडेल, अस्मिता कार्की (रुकु )र विरुद्ध शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन गरेको मुद्दामा अनुसन्धान भइरहेको छ । शुक्रबार चितवन जिल्ला अदालतले रविसहित तीनैजनालाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

रवि र युवराजलाई प्रहरीले बिहीबार साँझ न्युज २४ च्यानलको कार्यालय पानीपोखरीबाट पक्राउ गरेको थियो । बिहीबार दिउसो पक्राउ परेकी अस्मितासहित तीनैजनालाई प्रहरीले बिहीबार राति चितवन पुर्याएको थियो ।

पुडासैनीकी पत्नी सम्झना पुडासैनीले पनि आइतबार काठमाडौं प्रहरी परिसरमा पुगेर लामिछानेसहित तीनविरुद्ध किटानी जाहेरी दिएकी छन् । पुडासैनीले आत्महत्याअघि आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि उनीहरु पक्राउ परेका थिए ।

उक्त भिडियो पुडासैनीको मोबाइलमा फेला परेपछि प्रहरीले फरेन्सिक जाँच गर्दा भिडियो आफैं खिचेको पुष्टि भएको प्रहरीले जनाएको छ। पुडासैनीकै आवाजको भिडियो रहेको पुष्टिपछि थप अनुसन्धान गर्न लामिछाने, कार्की र कँडेललाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : August 20, 2019 at 2:40 pm